काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनबारे आज पनि सुनुवाइ जारी रहनेछ । सर्वोच्चले शुक्रबार यो मुद्दालाई हेर्दाहेर्दैमा राखेको थियो । विपक्षी तर्फबाट आज कानुन व्यवसायीले बहस गर्नेछन् ।
यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा विपक्षी गठबन्धनको बैठक बसिरहेको छ। बिहान सवा ९ बजेदेखि विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन्।
बैठकमा कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन्।
माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरु कृष्णबहादुर महरा र देव गुरुङ सहभागी छन्।
एमालेको माधव समूहबाट माधवकुमार नेपाल र भीम रावल सहभागी छन् । जसपा अध्यक्ष उपेन्द्र यादव, बावुराम भट्टराई पनि सहभागी रहेको बुढानिलकण्ठ स्रोतले बतायो ।
प्रतिनिधिसभा विघटन गरेर कामचलाउ भएको सरकारले शनिबार पूर्ण आकारको बजेट ल्याएलगत्तै विपक्षी गठबन्धनको बैठक बुढानिलकण्ठमा बसेको हो ।




