देश

वामदेवले भने– गिरिजाप्रसाद, प्रचण्ड र माधव नेपाल गणतन्त्रका महानायक, ओली गणतन्त्र विरोधी

काठमाडौं । एमाले नेता वामदेव गौतमले गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई गणतन्त्रका महानायक भएको बताएका छन् । १४औं गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै गौतमले तीन नेतालाई नेपालमा गणतन्त्र स्थापना गर्ने मुख्य नायक मानेका हुन् ।

नेता गौतमले वर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको नाम उल्लेख नगरे पनि उनीप्रति लक्षित गर्दै गणतन्त्र विरोधीको संज्ञा दिएका छन् ।

‘२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाल र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हुनुहुन्थ्यो। उहाँहरुमध्ये गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहुन्न । अरु दुर्इजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ,’ गौतमले लेखेका छन् ।

गौतमले एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य तीन नेता विरुद्धमा रहेको उल्लेख गरेका छन् । झापा संघर्षका मुख्य नेतामा केपी ओली पनि एक हुन् । गौतमले त्यो बैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति आफू नै रहेको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *