शिक्षा / स्वास्थ्य

जनताको मृत्यु कहालीलाग्दो ढंगले हुँदै गर्दा सरकार असंवैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य : प्रवक्ता शर्मा

काठमाडौं । अक्सीजनको अभावमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा सुत्केरी महिलासहित ६ जनाको एकैसाथ निधन भएको घटनालाई लिएर नेपाली कांग्रेसले देशमा सरकार छ ? कहाँ छ ? भन्ने प्रस्न गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माले देशमा सरकार छ ? काहाँ छ ? भनी प्रश्न गरेका हुन । अक्सीजनको अभावमा सुत्केरी महिलासहित ६ जनाको एकैसाथ निधन हुुनु अत्यन्तै दुःखद र कारुणिक भएको प्रवक्ता शर्माले बताएका छन ।

समयमै अक्सीजन उपलब्ध हुने सुनिश्चित ब्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाममा उपचाररत बिरामीको ठूलो संख्यामा एकसाथ निधनले राज्यको अकर्मण्यता पुष्टि त गरेको छ नै सरकार कहाँ छ भन्ने गम्भीर प्रश्न पनि सृजना गरेको कांग्रेसको दाबी छ ।

जनताको मृत्यु कहालीलाग्दो ढंगले हुंदै गर्दा सरकार मानवीय कर्तव्यमा भन्दा असंवैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य भएको कांग्रेसको ठहर छ । देशभरका सरकारी हुन् या निजी क्षेत्रका अस्पताल अक्सिजनको अभाव हुन नदिन अत्यावश्यक समन्वय गर्ने अनिवार्य दायित्व सरकारको हो प्रवक्ता शर्माले भनेका छन सरकारले यो दायित्व निर्वाह नगरेर हुने र भएका गम्भीर घटनाहरुको जिम्मेवार पनि सरकार नै हो । नेपाली कांग्रेस मृत्युको तथ्यांक राख्ने भूमिकाबाट सरकारमा रहँदासम्म जनताको जीवन रक्षाका लागि सम्पूर्ण रुपले केन्द्रित हुन प्रधानमन्त्रीलाई अपील गर्दै लापरवाहीले भएका प्रत्येक मृत्युु महंगो पर्ने चेतावनी दिन चाहन्छ ।

अक्सिजनको अभावमा एकसाथ जिवन गुमाएका ६ नागरिकको मृत शरीर अनि सुत्केरी आमाको मृत्युु पश्चात असहज स्थिति सामना गरिरहेको नवजात शिशुलाई हेरेर आजको मितिमा राज्यको कर्तव्य पहिचान र आत्मसात गर्न समेत नेपाली कांग्रेसले प्रधानमन्त्री एवं नेपाल सरकारलाई अपील र आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *