राजनीति

निर्दलीय अभ्यास सुरु गरेको भन्नेलाई सभापति देउवाले भने– पहिले संविधान पढ्नू

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी पेस गर्ने निर्णय निर्दलीय अभ्यास भएको भन्नेलाई पहिले संविधान पढ्न सुझाव दिएका छन् ।

नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा बिहीबार भर्चुवल संवादका माध्यमबाट आयोजना गरिएको कार्यक्रममा देउवाले संविधानको धारा ७६ (५) अनुसार १४९ सांसदको हस्ताक्षर आफूले राष्ट्रपतिकहाँ बुझाएको स्पष्ट पारे । उनले त्यसमा कुनै पनि सांसद सदस्यले विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्छ भन्ने रहेको प्रस्ट पार्दै संविधानअनुसार नै चलेको बताए । आफूले प्रस्तुत गरेको दावीलाई कुनै छानविन नै नगरी राष्ट्रपतिले सरकारको सिफारिसमा मध्यरातमा प्रतिनिधिसभा विघटन गरेको उनको भनाइ थियो ।

राष्ट्रपतिबाट संविधानको पालना नभएकाले नै आफूहरू सर्वोच्च अदालत गएको उनले बताए । अदालतले न्याय दिन्छ भन्नेमा आफू विश्वस्त रहेको देउवाको भनाइ थियो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेसको नेतृत्वमा तीनवटा दायित्व एकसाथ आएको बताए । नेता पौडेलले कोरोना महामारीबाट जनता, समयमै महाधिवेशन गरेर पार्टी र कम्युनिष्ट सरकारका कारण संकटमा परेको संविधानलाई बचाउने दायित्व काँग्रेसको काँधमा आएको उनको धारणा थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *