देश

जसपा विभाजन हुँदै, महन्थ ठाकुरले राजपा दर्ता गर्ने, चुनाव चिह्न पञ्जा माग गर्ने

काठमाडौं । पार्टी एकता भएको एक वर्ष नपुग्दै जनता समाजवादी पार्टी विभाजन हुने भएको छ । संविधानमा ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य लिएर नयाँ दल दर्ता गर्ने प्रावधानअनुरूप जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आज निर्वाचन आयोगमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) दर्ता गर्ने तयारी गरेका हुन् ।

राजपा दर्ता गरेसँगै चुनावका चिन्ह पञ्जा मागिने भएको छ । पञ्जा पहिले नेपाल सदभावना पार्टीको चुनाव चिह्न थियो । नयाँ संविधानअनुसार पार्टी एकता भएको पाँच वर्षसम्म वा एकता महाधिवेशन नभएसम्म पार्टी विभाजन गर्न नपाइने उल्लेख भए पनि ठाकुर र महतो पक्ष उपेन्द्र यादवसँग सँगै नबस्ने निर्णयमा पुगेका हुन् ।

बुधबार दिनभरिमा नयाँ पार्टीको विधान तयार गरिसकिएको बताइन्छ । जसपाको कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षको बहुमत भएपछि ठाकुरले राजपा ब्यूँताउने भएका हुन् ।

जसपाको ५० सदस्यीय कार्यकारिणीमा २१ जना मात्र ठाकुरको पक्षमा छन् भने बाँकी २९ सदस्य यादवको पक्षमा छन् । संसदीय दलमा भने बहुमत सदस्य ठाकुरको पक्षमा छन् । ३२ सांसदमध्ये ठाकुरको पक्षमा १९ र यादवको पक्षमा १३ जना सांसद रहेको देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *