काठमाडौं । आजको पत्रपत्रिकामा फरक फरक विषयमा मुख्य समाचार छापिएका छन् । राजनितिक विषयदेखि अब आउने बजेटबारे मुख्य चासोका साथ समाचार छापिएका छन् भने कोरोेना कहरको खबरलाई सबै पत्रिकाले अघिपछि झै उत्तिकै प्राथमिकता दिएका छन् ।
अन्नापूर्ण पोस्ट्ले नो खोप, नो भोट शिर्षकमा मुख्य खबर छापेको छ । देश कोरोना महामारीले ठप्प छ। संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ। अस्पतालले उपचार सेवा धान्न छाडेका छन्। अक्सिजनको अभाव चुलिँदो छ। यस्तो अवस्थामा बढेको राजनीतिक खिचातानीका कारण बीचैमा निर्वाचन घोषणा भएको छ। सर्वसाधारण भने कोरोनाविरुद्ध खोप लाउन पाए मात्र भोट हाल्न जाने मनस्थितिमा छन्। भोट हाल्न भीडमा जानुपर्छ, त्यसभन्दा पहिला सबैले खोप पाए मात्र त्यो सम्भव छ। ‘खोप ल्याएन भने यो सरकारले भोट पाएन’ भन्ने पनि छन्।
त्यस्तै ३६ प्रतिशतको तीतो कथाः दलितजति सुकुम्बासी बन्दै, साहूजी महँगा जग्गा थप्दै शिर्षकमा अर्को खोजमुलक समाचार छ । आरुघाट गाउँपालिका अप्रिकका लोकबहादुर गुरुङले १६ वर्षसम्म प्रहरी सेवामा काम गरेको कमाइले गोरखा बजारमा एउटा पक्की घर बनाए। घर बनाउँदा अपुग भएको १५ लाख रुपैयाँ तत्कालीन मनास्लु विकास बैंक ९हाल एनएमबी०बाट ऋण लिएका थिए। घातक ९खुट्टाको क्यान्सर० रोगबाट थलिएर उनी वीर अस्पतालको शय्यामा पुगेका बेला लगालग तीन किस्ता तिर्न सकेनन्।
बैंकको तारन्तारको ताकेताबाट पार पाउन श्रीमतीले गोरखा बजारका एक सुनचाँदी व्यवसायीसँग सयकडा ३६ रुपैयाँ ब्याज तिर्ने गरी २२ लाख रुपैयाँ ऋण लिइन्। तीन वर्षअघि लिएको २२ लाख रुपैयाँको सावाँ ब्याजबापत उनले हालै ७० लाख रुपैयाँको घर घडेरी गुमाए। अहिले सदरमुकामबाट केही पर डेरामा उनको बास छ। ‘१६ वर्षसम्म जागिर आएको कमाइले बनाएको त्यै एउटा घर थियो, त्यै पनि साहूले आज पनि खाली गरिदे, भोलि पनि खाली गरिदे भनेर हैरान पार्यो। एक महिनाअघि त्यही साहूको नाममा राजीनामा पास गरिदिएँ’, उनले भने, ‘२२ लाख रुपैयाँको सावाँ, ब्याज तीन वर्षमा ७० लाख कसरी भयो ? त्यसमाथि दुई लाख रुपैयाँ नगद पनि दिएको थिएँ। घर पनि गयो, पैसा पनि गयो, सबैथोक गुम्यो। म बरबाद भएको छु।’
नागरिक दैनिकले विपक्षी गठबन्धनले ओली विरुद्ध रणनिति बनाएको खबरलाई छापेको छ । भने अध्यादेशबाट ल्याउन लागेको बजेटबारे चासो देखाउँदै बजेटमाथि अझै वक्रदृष्टि शिर्षकमा समाचार छापेको छ । पछिल्लो राजनीतिक घटनाक्रमले आगामी आर्थिक वर्षको बजेटबारे अन्योल उत्पन्न गरेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यादेशमार्फत बजेट ल्याउने घोषणा विवादमा तानिएको छ। संविधानले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते संसद्समक्ष प्रस्तुत गर्नुपर्ने किटानी व्यवस्था गरेको छ। प्रधानमन्त्री ओलीले केही दिनअघि संविधानको यही व्यवस्थाअनुसार जेठ १५ मा अध्यादेशमार्फत पूर्ण आकारको बजेट ल्याउने बताएका थिए। तर अहिले संसद् विघटन भएको, चुनाव घोषणा गरिएको, अल्पमतको चुनावी सरकार भएको र विपक्षी गठबन्धन संसद् पुर्नस्थापनाका लागि सर्वोच्च अदालत गएका बेला बजेट ल्याउने विषय विवादमा तानिएको हो।
दुबै छिमेकि देशका प्रमुखसँग राष्ट्रपतिले खोप मागेको विषयमा मुख्य खबर छापेको छ । राष्ट्रपति भण्डारीको ‘खोप कूटनीति’ शिर्षकमा कान्तिपुरले खबर छापेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ रोकथाम र नियन्त्रणमा अति आवश्यक खोप ल्याउनका लागि दुवै छिमेकी चीन र भारतसँग ‘खोप कूटनीति’ अघि बढाएकी छन् ।
मुलुकमा कोभिड संक्रमण र त्यससँगै मृत्युदरसमेत बढिरहेको अवस्थामा राष्ट्रपति भण्डारीले खोप उपलब्ध गराउनका निम्ति चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बुधबार टेलिफोन संवाद गरिन् भने मंगलबार उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेर अनुरोध गरेकी थिइन्
राष्ट्रपति भण्डारीसँगको संवादमा चिनियाँ समकक्षीले नेपाललाई थप १० लाख खोप अनुदानमा दिने घोषणा गरेका छन् । चिनियाँ राष्ट्रपति सीसँग झन्डै ४० मिनेट भएको संवादमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चीनले यसअघि गरेको सहयोगलाई लिएर धन्यवाद व्यक्त गर्नुका साथै खोप खरिदका निम्ति सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् ।




