काठमाडौं । एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले केन्द्रको निर्णय नमान्ने निर्णय गरेका छन् । एमाले केन्द्रले सुदूरपश्चिम सरकारबाट मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन कायम नरहेको जनाएको थियो ।
२४ घन्टाभित्र सरकार छाड्न निर्देशन दिए पनि एमाले संसदीय दलको बैठकले केन्द्रको निर्णय अपरिपक्व भएको भन्दै सरकारलाई समर्थन कायमै रहने निर्णय गरेको छ ।
सुदूरपश्चिम प्रदेश सभामा एमालेको सभामुखबाहेक २४ सांसद छन् । जसमध्ये १८ जना माधव नोपल पक्षका छन् । आजको बैठकमा ओली पक्षकै तीनजना सहभागी भएको बताइन्छ ।
तर, एमाले ओली पक्षले पार्टीको निर्णय नमान्ने सुदूरपश्चिम प्रदेश सभाका सदस्य (सांसद) हरुलाई कारबाही गरिने चेतावनी दिएको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले प्रदेशका सांसदहरुले पार्टी केन्द्रले गरेको निर्णय मान्नैपर्ने बताए। केन्द्रको निर्णय नमान्नेलाई कारबाही गरिने उनले चेतावनी दिए।
प्रदेश संसदीय दलका नेता एवं प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहको अध्यक्षतामा बसेको बैठकले पार्टी केन्द्रले गरेको निर्णय ‘अपरिपक्व’ भएको समेत ठहर गरेको छ।




