काठमाडौं । राजपासँग पार्टी एकता गरेका उपेन्द्र यादवलाई राजनीतिक रूपमा ठूलो घाटा लाग्ने देखिएको छ । संघीय समाजवादी पार्टीबाट निर्वाचित भएका पाँच सांसदले महन्थ ठाकुर पक्षमा जाने निर्णय गरेका छन् ।
सरकारमा जाने निश्चित भएपछि जसपामा समीकरण फेरिएको हो । कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुग्ने सांसदमा उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रुही नाथ, कल्लुदेवी विश्वकर्मा र रेणुका गुरुङ छन् । ठाकुर पक्ष सरकारमा जाने निश्चित भएपछि उनीहरूले कित्ता परिवर्तन गरेको बताइएको छ ।
ठाकुर पक्षमा पाँच सांसद पुगेपछि सोमबार उपेन्द्र यादव पक्षका १२ जना सांसदले मात्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै हस्ताक्षर गरेका थिए । उपेन्द्रलाई छाड्नुमा उनीहरूमा मन्त्री बन्ने लोभ प्रमुख कारक मानिएको छ । तर, केही गरी जसपा विभाजन भएर पहिलेकै अवस्था आएमा एमाले र माओवादी केन्द्र जस्तै अलग अलग हुने र ती पाँच सांसदको पद जाने निश्चित छ । किनभने उनीहरू संघीय समाजवादी पार्टीबाट निर्वाचित भएका हुन् ।




