ईश्वर विश्वको हरेक कुनामा रहेको मानव जाति वा समुदायले आ–आफ्नो धर्म, परम्पराअनुसार ईश्वर अंग्रेजीमा (गड), मुस्लिमले अल्लाह, क्रिस्चियनले यशु, बुद्धिष्टले बुद्धलाई ईश्वर मानिआएका छन । कम्युनिस्ट तथा ओलीले पनि शान्तिको उदाहरण दिनुपर्दा गौतम बुद्धको नाम लिने गर्छन् । गौतम बुद्धको दर्शन, ज्ञान र उपदेशले ओलीजस्ता नास्तिक कम्युनिस्टलाई पनि सु–संस्कार दिन र अनुशासित बनाउन प्रेरित गर्दछ । बुद्ध दर्शन ईश्वरकै एक अंश हो ।
प्रधानमन्त्री ओलीलाई त्यही ईश्वर लिखित संविधानले नै सत्कर्म र सद्बुद्धिको मार्गमा डोर्याउँछ । तर विवेकहीन, संस्कृतिको उपहास गर्ने कुशासकलाई ज्ञान र उपदेश काम लाग्दैन । अज्ञानी र अहंकारको परिणामले बर्बादी र विनाशबाहेक केही प्राप्त हुँदैन । जुन माटोमा जन्मियो हुर्कियो युवा, वृद्ध हुँदै त्यही माटोमा अन्त्येष्टि निश्चित हुन्छ भने ओलीको यत्रो अहंकार किन ? मानिस आमाको कोखबाट जन्म लिएर शारीरिक विकास सँगसँगै मानसिक विकास पनि भइरहेको हुन्छ । वंशाणु गुणअनुसार कसैको बुद्धि तीक्ष्ण, विवेकी, करुणामयी हुन्छ भने कसैको कम्युनिस्ट ओलीको जस्तै विनाशकारी, उपद्रो गर्ने, देश लथालिंग, भताभुंग बनाउनेको जन्म हुन्छ ।
अहिलेको ओलीको हठात मानसिकता देख्दा मानसिक रोगीको जस्तो उनको व्यवहार असन्तुलित र अस्थिर देखिएको छ । ईश्वर भनेको राष्ट्रको माटो, आफूले जन्मलिएको भूमि र उक्त भूमिमा बसोबास गर्ने समुदायको रीतिरिवाज, परम्परा, धर्म, संस्कृति नै स्वयंको राष्ट्रिय परिचय हो । ईश्वर भनेको त्यही हो । तर २०७८ वैशाख ३१ गते प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष खाएको सपथ नेपालको संविधानबमोजिम लेखिएको ईश्वर र प्रतिज्ञा गर्दछु भन्ने शब्दलाई अस्वीकार गरे । यी दुई शब्द सपथसम्बन्धी अध्यादेश जारी गरेर हटाइदिए । ओली र विद्यादेवी भण्डारी त्यही संविधानबमोजिम त्यो पदमा पुगेको हुनाले सपथ लिन अनिवार्य हुन्छ ।
सपथ भनेको अनुशासन र देशभक्तिपूर्ण प्रतिबद्धता हो । कसैले ईश्वर मान्छन् या मान्दैनन् त्यो अलग विषय हो । तर नेपालको संविधानबमोजिम जे लेखिएको छ, त्यो अक्षरसः पालना गर्नै पर्दछ ।
खड्गप्रसाद ओलीलाई नेपालको पूर्वी पहाडी जिल्ला तेह्रथुमको विकट गाउँको निम्न वर्गको परिवारमा जन्मिएर, त्यही पाखापखेरोमा हुर्किएको याद होला कि न होला ? उनको बाआमा कुन संस्कारमा हुर्किए, कस्तो शिक्षादीक्षा लिए दिए त्यो ओली र उनकै परिवार जानकार होलान । तर आदर, सम्मान, स्नेह, मायाममता जस्ता संस्कारिक कुराहरू सिकाए कि सिकाएनन् ? घरमा बाबुआमाले सिकाउने संस्कार, अनुशासन र राष्ट्रको सपथ एकै प्रकृतिको हो । त्यो राष्ट्रप्रेमी भावना हो । ईश्वर र प्रतिज्ञा गर्दछु भन्ने शब्द बोल्न अस्वीकार गर्दा ओलीका लठुवाहरूको मनमा अलिकति पनि खिन्न र हीनताबोध भएन ? उनका नेताप्रति घृणा उत्पन्न भएन ? ओलीका लठुवाहरूले सामान्य रूपमा लिए होलान्, तर त्यो सामान्य घटना थिएन र होइन । संविधान, राष्ट्र र जनतामाथिको अपमान हो । गम्भीर अपराध हो । ख्यालठट्टाको विषय होइन । हास्यकलाकारले हँसाउने हास्यव्यंग््य होइन । सपथको जुन दृश्य देखियो राष्ट्रपति भन्दै गर्छिन् यो ‘प्रतिज्ञा गर्दछु’ कि प्रधानमन्त्री त्यो पर्दैन । महामहिम राष्ट्रपति ‘हिहिहि’ गर्दै भर्खरका केटाकेटीले जस्तो संविधानको उपहास गरेर लोक हँसाइरहेका थिए । नेपालका कम्युनिस्टलाई ईश्वर शब्दप्रति किन यति घृणा ? वास्तवमा ईश्वर भनेको के हो ? कहाँ छन् ईश्वर ? (Where is god ? God is in you and me, in the heart,in the brain and in the conscience.) अर्थात् ईश्वर तपाईंमा, ममा हाम्रो हृदयमा दिमागमा र आफ्नो विवेकमा हुन्छ । चेतनामा हुन्छ । प्रतिज्ञा गर्दछु र ईश्वर यी दुईवटा शब्दको सपथ लिँदा उच्चारण नगर्नु ओलीको बहुलठ्ठिपन, अमर्यादित, अशोभनीय र असंवैधानिक कदम हो । आफ्नो मनोमानी ढंगले जे मन लाग्यो त्यही बोल्ने ठाउँ होइन त्यो । त्यसरी अस्वीकार गर्न मिल्दैन । जनताद्वारा निर्वाचित प्रधानमन्त्री सदैव राष्ट्र र जनताप्रति जवाफदेही हुनु पर्दछ । स्वयं ओली र उनको दल सम्मिलित निर्मित संविधान ओलीद्वारा नै च्यात्ने काम भएको छ । आखिर ईश्वर, भगवान वा देवता जुन शब्दले सम्बोधन गरे पनि पवित्र स्थानमा रहने मठमन्दिर, चर्च, गुम्बा, मस्जिदमा अनुष्ठापूर्वक प्रार्थना, आरधना गर्नु आस्था र विश्वास हो । चाहे त्यो धर्म निरपेक्ष मुलुकमा होस्, चाहे कम्युनिस्ट मुलुकमा होस्, कुनै न कुनै रूपमा ईश्वर पुकारेको पाइन्छ । तर देवताको रूप अन्य धर्मभन्दा हाम्रो हिन्दु धर्ममा बढी छन ।
हाम्रो धर्मले तेत्तीसकोटि देवतालाई स्वीकार गर्छ । त्यसैले मानवभन्दा बढी देवता, घरभन्दा बढी मन्दिरको उपमा हिन्दु धर्मसँग जोडिएको हुन्छ । त्यसैले हामी जहाँ मूर्ति राख्छौं त्यहाँ मन्दिर स्थापना गर्छौं । मन्दिर निर्माण गर्नु धार्मिक महत्वका लागि मात्र नभएर सांस्कृतिक विविधताका लागि गरिएको हुन्छ । कम्युनिस्ट मूर्ख मनुष्यलाई यो पनि हेक्का रहोस्, संसारको धेरै मुस्लिम जनसंख्या भएको मुलुक इन्डोनेसियाको बाली भन्ने टापुमा झन्डै नब्बे प्रतिशत हिन्दुहरू बसोबास गर्छन् । त्यहाँ पुरातात्विक महत्व बोकेको हिन्दु मन्दिर नै मन्दिर रहेको छ । इन्डोनेसियन सरकारले उक्त टापुलाई पर्यटकीय स्थलका रूपमा विकास गरेको छ । हिन्दु धर्मको संरक्षण गरेको छ ।
लाखौंलाख विदेशी पर्यटकहरू बर्सेनी बालीको भ्रमण गर्ने गर्छन् । इन्डोनेसियाको झन्डै एक चौथाइ राष्ट्रिय आय पर्यटन विकासबाट हुने गरेको छ । ओलीजस्ता नास्तिक कम्युनिस्टहरूले पनि बाली टापुको भ्रमण गरेको हुनुपर्छ ।
ईश्वर वा देवता कम्युनिस्टविरोधी पनि हुँदैनन् । कम्युनिस्टहरू किन ईश्वर विरोधी हुन्छन् ? मानौं नेपालका कम्युनिस्टहरूले कम्युनिस्टकै दर्शनअनुसार सपथ खाने हो भने हाम्रो संविधानमा उल्लेख नै छैन । कतिपय पूर्वी युरोप र पूर्वी एसियाका कम्युनिस्ट मुलुकहरूमा कोही कम्युनिस्ट क्रिस्चियन छन्, कोही कम्युनिस्ट मुस्लिम छन्, कोही बुद्धिष्ट छन् । त्यहाँ आ–आफ्नो धर्म संस्कृतिलाई आधार मानेर सपथ खाने गर्दछन् । देशको राष्ट्रपति र प्रधानमन्त्रीलाई आफ्नो राष्ट्रको धर्म संस्कृतिको रक्षा गर्ने दायित्व हुन्छ कि हुँदैन ? संस्कार संस्कृति नबुझ्नेले मानवता बुझ्दैन । मानवता नबुझ्नेले समाज र राष्ट्र बुझ्दैन । समाज नबुझ्नेले राजनीति बुझ्दैन । राजनीति नबुझ्नेले ईश्वर नै बुझ्दैन ।
कोभिड–१९ को तेस्रो लहर
एब्लुएचओ तथा विभिन्न राष्ट्रका जनस्वास्थ्य विज्ञहरूले गम्भीर प्रकृतिको नयाँ खालको भाइरस देखापरेकाले सावधानी अपनाउन र सतर्क रहन अपिल गरेका छन् । भारतका विभिन्न राज्यहरूले Mucermycosis(Black fungus)लाई महामारी घोषित गरिसकेको छ । यो fungus को जोखिम उच्च रहेको प्रतिवेदन प्रकाशमा ल्याएको छ । यस्तो अवस्थामा नेपालमा आइपर्ने सम्भावनालाई पूर्वअनुमान गरी आवश्यक औषधि उपकरण, अक्सिजन, भेन्टिलेटर, आइसीयू बेड विस्तार गरी पर्याप्त इमर्जेन्सी सेवाका लागि एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्छ कि पर्दैन ? तर कम्युनिस्ट ओली सरकार हरेकपटक स्वास्थ सामग्री खरिद प्रकरणमा कमिसन र भ्रष्टाचारमा फसेको छ । नेपाली जनतामाथि खेलवाड गरिरहेको छ । यस्तो भयावह अवस्थालाई बेवास्ता गरेर कुर्सी जोगाउन संविधानमाथि नै प्रहार गरेको छ । अक्सिजनको अभावले अकालमा नेपाली जनताले ज्यान गुमाउनु परेको छ । कोभिड नियन्त्रण तथा समाधानको लागि कुनै चासो र चिन्ता छैन । आफ्नो अकर्मण्यतालाई ढाकछोप गर्न सञ्चार माध्यममार्फत झुट र भ्रमको चुड्की पिटिरहेकै हुन्छन् । दुईजना हास्य पात्रले देशलाई दुर्घटनातर्फ धकेलिदिएका छन् । दैनिक २५० नेपालीले मृत्युुवरण गरेका छन् । ६ हजारभन्दा बढीले ज्यान गुमाइसके । समयमै उपचार अभाव र अक्सिजन अभावले अझै कति नेपालीले ज्यान गुमाउनु पर्ने हो एकिन गर्न सकिन्न । उता प्रधानमन्त्री ओली सांसदहरूको किर्ते सही ठोकेर १५३ जना सांसद मेरो पक्षमा रहेकाले प्रधानमन्त्रीमा मलाई नियुक्ति गरियोस् भन्दै राष्ट्रपतिकोमा हाजिर भए । आफूले सांसदहरूको कीर्ते सही गरेको ओलीको भित्री अन्तरआत्माले स्वीकार गरेकाले उनको पक्षमा बहुमत नपुग्ने देखिएकाले पुनः रातारात संसद् विघटनको सिफारिस बोकेर राष्ट्रपति निवासमा पुगे । अर्धज्ञानी, अविवेकी राष्ट्रपतिले हठात सहीछाप ठोकिदिइन् । संसद् विघटन भयो ।
ओलीमा अहंकार र घमण्डले सीमा नाघ्यो । फ्रान्सका पूर्वसम्राट लुइस चौधौंले जस्तै (I am a state) अर्थात् म नै राज्य हुँ भन्नेमा ओली पुगेका छन् । ओलीले राष्ट्रद्रोही अपराध स्टेप बाइ स्टेप गर्दै आएका छन् । उनका कुकृत्य छर्लंग भएको छ । कम्युनिस्ट ओलीका कारण नेपाल र नेपालीले आफ्नो सार्वभौम अस्तित्व गुमाउने दिन आउँदैछ । संसद् विघटन भएको अवस्थामा हतारहतार भारतलाई खुसी पार्न भारतीयलाई जन्मसिद्ध वंशजको आधारमा नागरिकता थमाउने नागरिकतासम्बन्धी अध्यादेश जारी गरेर ओली र विद्या भण्डारीको राष्ट्रवादी मुकुण्डो उघारिएको छ । अबको ८/१० वर्षको अवधिमा धेरै भारतीयले नागरिकता प्राप्त गर्नेछन् र बहुमत जनसंख्या भारतीय मूलको हुनेछ । वास्तविक नेपाली अल्पमतमा पर्नेछन् । हामी नेपाली आफ्नै देशभित्र शरणार्थीको रूपमा बाँच्न बाध्य हुनुपर्ने छ । यस्तो राष्ट्रघात जघन्य अपराध गर्दा पनि नेपाली जनताले ओलीलाई सत्ताबाट च्यूत नगर्ने हो भने भयंकर भूल हुनेछ । हामीलाई इतिहासले क्षमा गर्ने छैन । म एक सचेत नेपाली नागरिकको हैसियतले आग्रह गर्दछु कि प्रधानमन्त्री ओलीजी तुरुन्तै प्रधानमन्त्रीको पद त्याग गर । देश र जनताको भलो हुनेछ । तिम्रोसमेत भलो हुनेछ । तिम्रा कारणले नेपाली जनतालाई थप पीडा र कष्ट भो । अत्याचार भो । अब त अति भो, अति भो । पद त्याग गर ।




