आजका पत्रपत्रिकामा फरक फरक विषयलाई प्राथमिकता दिएर समाचार छापिएको छन् । संसद् विघटनविरुद्ध सर्वोच्चमा रिट परेको खबरलाई सबै पत्रिकाले स्थान दिएका छन् । रिट लिएर १३९ सांसद सर्वोच्चमा शिर्षकमा नागरिक दैनिकले खबर छापेको छ । विघटित प्रतिनिधिसभाका १३९ सदस्यले संसद् पुनस्र्थापनासहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनको माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्। उनीहरूले संविधानको धारा ७६ (५) अनुसार प्रतिनिधिसभा सदस्य देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेका हुन्। संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य देउवाले प्रधानमन्त्रीमा दाबी गरेका थिए। तर राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैको दाबी नपुगेको जनाउँदै नयाँ प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेकी थिइन्। त्यो कार्य संविधान विपरीत भएको दाबी रिटमा गरिएको छ। रिटमा १४६ सांसदको हस्ताक्षर छ। उनीहरूको नागरिकताको प्रतिलिपि पनि समावेश गरिएको छ। हस्ताक्षर गर्नेमध्ये १३९ जना अदालतमै उपस्थित भएका थिए भने ६ जनाले प्रतिनिधि पठाएका थिए। रिटमा हस्ताक्षर गर्नेमा नेपाली कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, एमाले (माधवकुमार नेपाल पक्ष) का २३, जनता समाजवादी पार्टी (बाबुराम भट्टराई तथा उपेन्द्र यादव पक्ष) का १२ र राष्ट्रिय जनमोर्चाका एकजना छन्।
त्यस्तै नेकपा एमालेमा फुट आएको खबरलाई पनि सबै पत्रिकाले छापेको छ । केही दिनमै एमाले फुटेर नयाँ पार्टी घोषणा हुने दावी गरिएको अन्नपूर्ण पोस्ट्ले छापेको छ । सत्तारुढ दल एमाले औपचारिक रुपमै विभाजनतिर उन्मुख भएको छ । सोमबार एमाले वरिष्ठ नेता माधव कुमार नेपालसहितका नेताहरु काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्न गएका थिए । उता त्यही बेला एमालेको स्थायी समिति बैठकले नेपाल र झलनाथ खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्यो । यी घटनासँगै एमालेमा विभाजनको रेखा कोरिएको हो ।
अन्नपूर्ण पोस्ट्ले अलपत्र यो भवन कोभिड उपचारमा सदुपयोग किन नगर्ने ? शिर्षकमा खबर छापेको छ । काठमाडौं–भक्तपुर भएर ओहोरदोहोर गर्ने जोसुकैले वर्षौंदेखि अपूर्ण हालतमा ठडिएको १७ तले भवन देखेकै हुनुपर्छ। भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ राधेराधेमा रहेको यो घरको बेला–बेला अनेक परिचर्चासमेत हुन्छन्। किन यो अलपत्र रह्यो भन्ने जिज्ञासा पनि धेरैमा पाइन्छ। त्यसको कथा भिन्दै छ। यहाँ चर्चा गर्न खोजिएको विषय भने हो– कोभिड महामारीमा उपचार प्रयोजनका लागि यो घरलाई सदुपयोग किन नगर्ने ? राज्य वा निजी क्षेत्रले वा सार्वजनिक–निजी साझेदारी (पीपीपी) ढाँचामा स्वास्थ्योपचार केन्द्र यसलाई किन नबनाउने ?




