काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिन माग गर्दै ३ वटा रिट पेश भएका छन् । सर्वोच्च अदालतले ओलीलाई प्रधानमन्त्री बनाउन माग गर्दै तीन वटा रिट पेश भएको सर्वोच्चका संचार विज्ञ किशोर पौडेलले जानकारी दिए ।
प्रतिनिधिसभा पुर्नस्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै २७ वटा रिट पेश भएको अदालतले जनाएको छ । संचार विज्ञ पौडेलका अनुसार विपक्षी गठबन्धनका १ सय ४६ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन माग गरेका छन् । विपक्षी चार राजनीतिक दलका सांसदहरुको रिट दर्ताको प्रक्रियामा रहेको छ । सवै रिट दर्ताको प्रक्रियामा रहेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म सर्वोच्चमा ३० वटा रिट पेश भएका छन् । शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।
त्यसलाई असंवैधानिक भनेको विपक्षी गठबन्धनले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवाको दावी वैधानिक रहेको भन्दै दाबीमा समर्थन गरेका सांसदको हस्ताक्षरसहित रिट तयार पारेका हुन् । रिटमा गठबन्धनका १ सय ४६ सांसदले हस्ताक्षर गरेका छन्। कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले नेपाल समूहका २३ र जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदले हस्ताक्षर गरेका हुन् ।




