काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित पाँच दलीय गठबन्धनले प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक ठहर गर्दै संसद् पुनःस्थापनाको मागसहित राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध कानुनी उपचारका लागि सर्वोच्च जाने भएको छ । प्रतिनिधिसभा विघटन र अर्ली चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाने भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जान लागेका हुन् ।
शनिबार राजधानीमा बसेको गठबन्धनको बैठकले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको मिति घोषणा गर्ने राष्ट्रपतिको कदमलाई असंवैधनिक ठहर गर्दै उक्त कदमविरुद्ध एकताबद्ध भई राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको थियाे ।
राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनकातर्फबाट शेरबहादुर देउवाले प्रस्तुत गरेको दाबी विधिसम्मत नभएकोभन्दै खारेज गरेकी थिइन् । र, मन्त्रिपरिषद् बैठकको सिफारिसमा संसद विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।




