अनेकौं जालझेल, षड्यन्त्र, तिकडम, बेइमानीका साथ ओली–विद्या गठबन्धनले संविधानसभाबाट जारी नेपालको संविधान २०७२ को हुर्मत लिएका छन् । संविधानको सुनौलो व्यवस्था गर्नुपर्नेमा सवैधानिक व्यवस्थालाई भत्काउने र च्यात्ने काम भएको छ । हुन त कम्युनिष्टहरुले लोकतान्त्रिक मूल्य पद्धतिमा आधारित संविधानको रक्षा गर्छन् भन्ने विश्वास नै गलत हो । आफ्नो स्वार्थका खातिर सम्पूर्ण प्रक्रिया, पद्धति र प्रणाली नै बद्नाम गर्ने र असफल बनाउने काम कम्युनिष्ट गठबन्धनबाट भएको छ । राज्यले व्यवस्था गरेका संस्थाहरुको कार्य सम्पादन निस्पक्ष, स्वतन्त्र र वैधानिक व्यवस्था बमोजिम नहुनु र त्यसको असर सिंगो लोकतान्त्रिक प्रणालीमा पर्नु सबैभन्दा चिन्ताको विषय हो ।
चमत्कार देखाउँछौं भनी एमाले र माओवादी गठबन्धन गरेर स्थायित्वको सपना देखाउँदै समृद्धि र सुख ल्याउँने कम्युनिष्ट घोषणा आज मरानासन्न भएको छ । जनताले महामारीको चपेटामा समेत सरकारको अभिभावकत्व महसुस गर्न सकेनन् । भ्रष्टाचारका काण्ड नै काण्डले सरकारका दिन बिते । सामान्य लोकलाजसमेत बचाउन नसक्नु ओली सरकारको सबैभन्दा उल्लेखनीय विशेषता रह्यो । कार्यान्वयनको चरणमै नै रहेको स)विधानलाई क्षतविक्षत बनाउने जुन अभियान चल्यो, त्यसले कम्युनिष्टहरु न त संविधानसभाका प्रति इमान्दार थिए न त लोकतान्त्रिक प्रवन्ध भएको संवधानका प्रति नै ।
त्यसैले स्थायित्वको नारा पनि स्वार्थमा समाप्त भयो, पार्टी एकता पनि कायम रहन सकेन । यी सबै सन्दर्भहरु केवल व्यक्तिगत, दलगत र गुटगत स्वार्थका लागि मात्र थिए, देश र जनताप्रति उत्तरदायी हुने र जनताको आशा र विश्वासको प्रतिनिधित्व गर्ने अठोट र स)कल्प थिएन भन्ने पुष्टि भएको छ । जनतामाथि अक्षम्य धोखा भएको र आफूले गरेको विश्वास चकनाचुर बनाइएको महसुस आम मतदाताले गरेका छन् ।
अब संवैधानिक व्यवस्थाको चरम दुरुपयोग गरी घोषणा भएको निर्वाचन सम्पन्न हुन्छ वा हुँदैन, भए के कसरी सम्पन्न हुन्छ ? भन्ने गम्भीर सवाल खडा भएको छ । स)विधानको धारा ७६(५) बमोजिम प्रतिनिधिसभा के विश्वास आफूमाथि छ भन्ने आधार प्रस्तुत गरेका कांग्रेस सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरी निर्वाचनको घोषणा गर्ने गराउने ओली विद्या निर्णयले निर्वाचनको निष्पक्षता र सुनिश्चिताप्रति अविश्वास बढाएको छ । जसरी पनि सत्ता कब्जा गर्ने, संविधानलाई च्यातचुत बनाउने जुन काम गरिएको छ, यसले अविश्वासको ठूलो खाडल बनाएको छ । कोरोना महामारीको बीचमा निर्वाचनको सम्भावना यसै पेचिलो देखिन्छ भने अर्कोतर्फ ओली–विद्या गठबन्धन संविधान, लोकतन्त्र र निर्वाचनप्रति इमान्दार छैनन् ।
यसले मुलुक कतै अध्यारो सुरुङतर्फको यात्रा र गरिरहेको छैन भन्ने अहं सवाल खडा गरेको छ । यसलाई पनि चिरेर अगाडिको यात्रा सुनिश्चित गर्ने दायित्व र जिम्मेवारी बहन गर्न सक्ने राजनीतिक नेतृत्वको उपस्थिति पनि देखिँदैछ । आशा जगाउने नेतृत्वको अभावमा अन्धकारतर्फको यात्रा अझ बलशाली हुने हो कि भन्ने चिन्ता पनि थपिएको छ । नेपाली कांग्रेसले जनताको आश र विश्वास बमोजिम अभिभावकीय दायित्व निर्वाह गर्न नसकेको कारण मुलुक यहाँसम्म आएको हो । आन्दोलनमा सफल हुने तथा राज्य सञ्चालनमा असफल हुने रोगबाट कांग्रेस र यसको नेतृत्वग्रस् छ । जनताले पटक पटक दिएको अवसरको सदुपयोग गर्न नसकेको इमान्दार, त्याग र निष्ठा भएका नेता, कार्यकर्तालाई पाखा लगाइ, स्वार्थी, अवसरवादी हनुमान, दलाल, चाकरीबाजलगायतलाई प्राथमिकतामा राखेको कारण पटक पटक दुर्घटना भएको छ ।
कम्युनिष्टहरु सत्तामा पुग्नु नै दुर्घटना हो । यो दुर्घटना निम्त्याउन सबैभन्दा बढी जिम्मेवार नेपाली कांग्रेस छ । जनताले कम्युनिष्टहरुलाई विश्वास गरेका होइनन, अलिकति पछि गएर हे¥यो भने त्यो प्रमाणित ह्न्छ । कांग्रेससँगको असन्तुष्टि कम्युनिष्टमा गएर ठोकिएको मात्र हो । यसलाई गम्भीर भएर निर्मम विश्लेषण हुन सकेको छैन । आ–आफ्नो गुट र गिरोह प्रवद्र्धनमा कांग्रेसका ठेकेदार र डनहरु क्रियाशील छन् । पार्टीको प्रतिष्ठा र विश्वास पुनस्र्थापित गरेर जनताको आस्था र विश्वास केन्द्र बन्ने दृष्टिकोण नै छैन । यो अर्को समस्याको रुपमा रहेको छ । यसले गर्दा पनि नेपालको लोकतान्त्रिक भविष्य अन्योलग्रस्त बनेको हो ।
घोषित मिति २०७८ कार्तिक २६ र मंसिर ३ गतेको निर्वाचन हुने वातावरढा बनाउनु अबको कांग्रेसको मुख्य कार्यभार हो । को के हुने वा कसको हैसियत के हो ? भन्ने समय यो होइन । संविधान र व्यवस्थालाई बचाउने, संरक्षण र प्रवद्र्धन गर्ने ऐतिहासिक जिम्मेवारी र दायित्व सम्झेर व्यक्तिगत गुटगत, समूहगत स्वार्थ त्यागी माथि उठ्ने समय आएको छ । नेपाली जनतालाई पुनः एकपटक ढाडस र विश्वास दिलाउने अवसर इतिहासले सुम्पेको छ । सामूहिक भावनाका साथ अगाडि बढ्ने संकल्प भयो र आदर्श, सिद्धान्त मूल्य र मान्यता स्थापित गर्न इमान्दार, योग्य, सक्षम र निष्ठा भएका मानिसलाई जनताका बीचमा प्रस्तुत गर्न सक्यो भने सम्भावना देखिन्छ । त्यसका लागि सर्वप्रथम कांग्रेसभित्र एकता र विश्वास हुनुप¥यो । आफू मिल्नुप¥यो, मनदेखि मिल्न सक्नुपर्छ । व्यक्तिगत अहंकार र स्वार्थ त्याग्न सक्नुपर्छ । सभापति वा प्रधानमन्त्री को हुने भन्ने विवाद नगरी संविधान र लोकतन्त्र कसरी बचाउन सकिन्छ भन्नेतर्फ सम्पूर्ण ध्यान केन्द्रित गर्न सक्नुपर्छ ।
व्यक्ति आफैमा पूर्ण होइन, पद्धति, प्रक्रिया र विश्वासको योगफल नै परिणाम दिन सकिन्छ । परिणामुखी हुने सूत्रमा बाँधिएर अगाडि बढ्ने संकल्प चाहिएको छ । आफूलाई केन्द्रमा राखेर निर्णय गर्न गराउन खोजियो भने दुर्घटना निश्चित नै छ । महाधिवेशन, निर्वाचन र महामारीको चापमा परेको छ, नेपाली कांग्रेस । यसको उचित व्यवस्थापन भएन भने अर्को मौका आउँदैन । धेरै पछाडि धकेलिनुपर्नेछ भन्ने हेक्का राख्न सक्नुपर्छ ।
अब कम्युनिष्टहरुसँग मिलेर जाने सोच र चिन्ताबाट कांग्रेस मुक्त हुनुपर्दछ । ओलीलाई निरंकुश, स्वेच्छाचारी र अधिनायकवादी बनाउन पुष्पकमल दाहाल र माधव नेपालहरु नै जिम्मेवार छन् । कांग्रेससँगको सहकार्य तोडी एमालेसँग चोक्टा खान हामफालेका दाहाल यतिबेला नराम्रोसँग झोलमा डुबेका छन् । उनले त्यहाँबाट निष्कन कांग्रेससँग सहकार्यको हात बढाउन खोज्छन्, माधव नेपालहरुले राजनीतिक जीवनको भिक्षा माग्न पनि सक्छन् ।
डा. बाबुराम भट्टराईलाई गोरखामा दिइएको भिक्षा वा चितवनलगायतका ठाउँमा वा मधेशमा नै गरेको समर्थन र सहयोगको चर्को मूल्य चुकाउनु परेको छ । सभापति देउवामाथि यसको सबै दोष थोपरिएको छ । कोही अछुतो नबनौं, स्पष्टसँग भनौं, मण्डी ओडेर घिउ खाने काम काम नगरौं । देशको सार्वभौमिकता र अखण्डता लोकतन्त्र र पार्टीको विश्वास रह्यो भने राजनीति गर्दै जाउला । अहिले देश, जनताको विश्वास लोकतन्त्र र नेपाली कांग्रेसको प्रतिष्ठा बचाउने समय हो ।
कुनै खास व्यक्तिको स्वार्थ, उमेरको चाप वा अभिष्ट पूरा गर्ने समय होइन । बिहानदेखि बेलुकासम्म नेताहरुको घरदैलोमा सदावहार देउसी भैलो खेल्नेहरुले वास्तविकता बताउन वा मालिकको भावना प्रतिकूल हुने सल्लाह वा सुझाव दिन सक्दैनन् । निर्भिक, निडर, निस्वार्थी व्यक्तिले मात्र यथार्थ अवगत गराउन सक्छ । उसको स्वार्थ मुलुकको हित, लोकतन्त्रको संरक्षण र पार्टीको भविष्य मात्र हुन्छ । यो अभियानलाई सबै इमान्दार नेता कार्यकर्ताहरुले अगाडि बढाउन अति आवश्यक भइसकेको छ ।




