कला/साहित्य

होला कस्तो स्वर्ग अहिले ?

होला कस्तो स्वर्ग अहिले ?
अटाउलान् के विश्व ब्रह्माण्डका
समस्त मानवीय हंसहरू जहाँ ?
सायद काठमाण्डौंजस्तै भयावह हुनु पर्छ त्यहाँ
भिड होला सायद भिडम्भिड
लागिरहेको होला कुम्भ मेला अटाइनअटाइको
कोरोनाको ओसार पसार यहाँ जस्तै होला
पाइलो हाल्न सकिने ठाउँ नहोला
छुट्याउनै नसकिने होलान् अनुहारहरू
मास्क पहिरेकाहरू
अक्सिजन र उपचारको अभावमा
चिरनिद्रमा लीन भएकाहरू
थातवास, श्रीसम्पत्ति गुमाएर पुगेकाहरू
चिनिएलान् कसरी एक अर्कोमा ?
आफन्त–परन्त छुट्टिएलान् कसरी ?
मिनेट मिनेटमा अलबिदा भन्दै पठाइएकाहरू
आफन्तबाट दागबत्ती दिन नभ्याएर
दुई थोपा आँसु खसाल्न नपाएर
अकाल मृत्यु बेहोर्दै आफलिएकाहरू
कहाँ बस्ता हुन् ? कहाँ खाँदा हुन् ?
लाम लगाएर नदी किनाराबाट
विमान चढाएर पठाइएकाहरू
अटाउँदा हुन् कसरी त्यहाँ ?
अविरल अविरल ओइरिएकाहरू
लखेटिंदै चिच्याउँदै मृत्यु मार्ग समाएकाहरू
लाग्छ , यमराजको ढोकामा
पालो कुरिरहेका होलान्
चित्रगुप्तलाई परिरहेको होला कामको चटारो
मुलाकातमा भ्याइनभ्याइ होला बहुत घचारो
रजिस्टर पल्टाएर दर्ता गर्न
होला असिनपसिन कामै कामको हतारो ।

*                *                *                      

मादी, संखुवासभा
हालः लोकन्थली, भक्तपुर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *