रिबन

आज राष्ट्रियसभा उपनिर्वाचनको मतदान, भिडन्तमा देवकोटा र गृहमन्त्री थापा

हेटौंडा । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ । उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भएको छ ।
निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता कायम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
निर्वाचनको मैदानमा संयुक्त उम्मेदवारबाट खिमलाल देवकोटा र नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरले मतदाताको बसोबास र मतदान व्यवस्थापन स्वास्थ्य सुरक्षा मापदण्डका आधारमा प्रबन्ध मिलाइएको जानकारी दिएको छ । हेटाँैडा नगरपालिका– ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको तीन केन्द्रमा मतदान हुनेछ । केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइने छ ।
उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ । निर्वाचकमण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सक्ने छन् । स्थानीय तह निर्वाचन, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्न सकिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

निर्वाचकमण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाएर यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन पनि दिएको छ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचन भने जेठ १७ गते हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *