राजनीति

कोरोना महामारी नियन्त्रणमा गम्भीर बन्न काँग्रेसले प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने

काठमाडाैं । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै महामारी नियन्त्रणमा सरकार गम्भीर बन्न नसकेकोमा ध्यानाकर्षण गराउने भएको छ । नेपाली काँग्रेसको कोभिड १९ अनुगमन समितिको समन्वयमा सभापति शेरबहादुर देउवाको नेतृत्वमा भोलि प्रधानमन्त्रीलाई भेटेरै कोरोना महामारीबाट देशमा विकराल परिस्थिति सिर्जना भएको अवस्थामा पनि सरकारले महामारीको उपचार र व्यवस्थापनमा ध्यान नदिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने भएको हो ।

दिनहुँ २ सयको हाराहारीमा नागरिकको ज्यान गइरहेको, हरेक दिन ८ हजारभन्दा बढी संक्रमितहरु थपिएको अवस्थामा पनि जनतालाई स्वास्थ्य सुविधा दिन तथा आवश्यक अक्सिजन तथा अस्पतालका शैया समेत उपलब्ध गराउने सामान्य र आधारभूत काम नै गर्न नसकेको भन्दै सरकारलाई ज्ञापन पत्रमार्फत् ध्यानाकर्षण गराउन लागेको काँग्रेसको कोभिड १९ समितिका संयोजक एवं नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

सहमहामन्त्री डा.महतले भोलि विहान ९ बजे प्रधानमन्त्री ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको छ । सभापति देउवाको नेतृत्वमा पार्टीका पदाधिकारी र नेताहरुका साथै उक्त कोभिड समितिका सदस्यहरु पनि प्रधानमन्त्री कार्यालय जाने भएका हुन् । सो समितिका संयोजक डा.महतको पहलमा सो समितिले केही दिनयतादेखि देशका सबै प्रदेशका पार्टी प्रतिनिधि लगायत नागरिकहरु एवं समाजका सबै क्षेत्रका नागरिकहरुसँग देशका विभिन्न भागमा कोभिड १९ ले पारेको प्रभाव र त्यसको व्यवस्थापनमा सरकारको उपस्थितिका विषयमा भर्चुअल अन्तक्र्रिया गरेको थियो ।

सो अन्तरक्रियामा पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलका साथै पदाधिकारी र सो समितिका सदस्यहरुको सहभाागिता थियो । त्यस क्रममा देशैभरका नगारिकले जनता महामारीको चपेटामा परेको अहिलेको अवस्थामा पनि सरकारले उपस्थिति जनाउन नसकेको भन्दै सरकारको कार्यशैलीप्रति व्यापक मात्रामा गुनासो गरेका थिए । साथै यसअघि पनि उक्त समितिले प्रदेशहरुमा पुगेर पनि कोरोनाको कहर र यसबाट जनतामा परेको प्रभावका बारेमा पनि अन्तरक्रिया गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *