समाचार

आचार संहिता उल्लंघन गर्ने प्रधानमन्त्रीलाई कारबाही गर्न कांग्रेसको माग, मौन अवधिमा मत मागेका भन्दै भर्त्सना


काठमाडौ । निर्वाचन आचार संहिता उल्लंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मौन अवधिमा मत माग्दै वक्तव्य दिएको भन्दै नेपाली कांग्रेसले भर्त्सना गरेको छ ।

कांग्रेस संसदीय दल, कार्यसमितिको बुधबार बसेको बैठकले राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधि सुरु भइसकेको बेला प्रधानमन्त्रीले वक्तव्य जारी गर्दै मत मागेको भन्दै आप्पत्ति जनाएको हो ।

‘निर्वाचन आयोगले निर्वाचन आचार संहिता उल्लंघन गर्ने जो सुकैलाई पनि कारबाही गर्नुपर्छ भन्ने हाम्रो ठहर छ’ प्रमुख सचेतक बालकृष्ण खाँडले भने ।

वाग्मती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन भोलि हुँदैछ । त्यसको अघिल्लो दिन नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले बादलको पक्षमा मत माग्दै वक्तव्य निकालेका थिए ।

उता निर्वाचन आयोगले बिहीबार उपनिर्वाचनका लागि मौन अवधि सुरु भइसकेपछि पनि आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने कार्य भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको तर्फका उम्मेदवार रामबहादुर थापा बादलको पक्षमा मत माग्दै अपील जारी गरेका थिए भने मौन अवधिमा उम्मेदवारकै दौडधूप समेत बढेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *