काठमाडौं । संविधानतः जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । तर, आजसम्म पनि संसद् बैठक बोलाइएको छैन ।
बजेट ल्याउनुअघि संसदमा प्रि–बजेट छलफल, नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित हुनै पर्छ। तर, समयमै संसद् अधिवेशन नबसेका कारण प्रि–बजेट छलफलको समय गुज्रिएको छ। बजेट ल्याउनु १५ दिनअगावै प्रि–बजेट छलफल सक्नुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था सरकारले लत्याइसकेको छ ।
तर, अहिले ओली बजेट ल्याउनुअगावै विश्वासको मत लिने तयारीमा लागेका छन् । अहिले नै विश्वासको मत लिएपछि आफ्नो अवस्था हेरेर बजेट ल्याउने ओलीको तयारी छ । यदि संसदमा विश्वासको मत पाए पूर्णकालीन बजेट ल्याउने, नभए संसद् विघटन गरेर अध्यादेशबाट बजेट ल्याउने खेलमा ओली लागेका छन् ।
प्रधानमन्त्री केपी ओलीले केही समयअघि संसद् जिउँदै रहेको बताएका थिए । त्यसलाई धेरैले संसद्मै बजेट प्रस्तुत हुने अनुमान गरेका थिए । तर, आजसम्म पनि संसद् बैठक आह्वान नहुनुले प्रमुख प्रतिपक्षी दल कांग्रेस सशंकित भएको छ । सोही कारण आज कांग्रेसले संसदीय दलको बैठक बोलाएर संसद बैठक आह्वानका लागि आग्रह गर्ने भएको छ ।
बैठक दिउँसो साढे २ बजे संसद भवन बानेश्वरको ल्होत्से हल बानेश्वरमा बस्ने भएको छ । बैठकमा कोरोना महामारी, बजेट र नयाँ सत्ता समीकरणका विषयमा छलफल हुने कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेपछि जसपामा किचलो उत्पन्न भएको छ । मंगलबार जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच सहमति भएको केही घन्टामा सहमति भाँडिएको थियो । ओलीले ठाकुरलाई फकाएर विश्वासको मत लिएपछि राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाउने बाचा गरेका छन् ।
बैशाख ३१ गते संविधानको धारा ७६ को उपधार ३ अनुसार ओली प्रधानमन्त्री नियुक्त भएका थिए । ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।




