काठमाडौं । बागमती प्रदेशबाट राष्ट्रिय सभामा रिक्त पदको उपनिर्वाचनमा भोलि मतदान हुँदैछ । हेटौडामा हुने मतदानमा तीन सय ४८ जना मतदाता छन् ।
उपनिर्वाचनमा एमालेबाट रामबहादुर थापा बादल, स्वतन्त्र डा.खिमलाल देवकोटा र नेमकिपाबाट कृष्णबहादुर तामाङ उम्मेदवार बनेका छन् । तर, मुख्य प्रतिस्पर्धा बादल र देवकोटाबीच हुने देखिएको छ ।
गाउँ र नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष,मेयर तथा उपमेयर एवम् प्रदेश सभाका सांसद गरी बागमतीमा जम्मा तीन सय ४८ जना मतदाता छन् । प्रदेश सभासद ११०, मेयर उपमेयर र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष गरी २३८ जना छन् ।
मतदानका लागि झण्डै ३० जना कर्मचारी फिल्डमा खटिएका छन् । नतिजा मतदान सकिएको बढीमा केही घन्टामै घोषणा गर्ने तयारी छ ।
सरकारले बागमती र लुम्बिनीमा गरी उपनिर्वाचनका लागि एक करोड २८ लाखभन्दा बढी खर्च गर्दैछ ।
बागमतीका लागि ६४ लाख निकासा भइसकेको छ । कर्मचारीलाई भने अन्य चुनावमा झैं सुविधा तोकिएको छ । यसमा संलग्न आयोगका कर्मचारीले थप एक महिनाको तलब छुट्टै पाउँछन् । निर्वाचनस्थलमा खटिएका कर्मचारी,सुरक्षाकर्मीलाई दैनिक भ्रमण भत्ता छुट्टै दिइने छ । अन्य खर्च र मसलन्द खर्चसमेत जोड्दा बागमतीमा ६४ लाख रुपैयाँ खर्च हुने अनुमान आयोगको छ ।
देशमा जनता कोरोना भाइरसले मरिरहँदा भने प्रधानमन्त्री केपी ओली बादललाई राष्ट्रिय सभा सदस्य बनाउन ६४ लाख रुपैयाँ खर्च गर्दैछन् । यो निर्वाचन अलि पछि गर्दा पनि हुने थियो । तर, ओलीकै इगोका कारण कोरोना कहरकै बेला मतदान हुँदैछ ।




