काठमाडौं । पञ्चहरूको पार्टी राप्रपा विस्तारै एमाले कित्तामा उभिन थालेको छ । राप्रपाको निर्णय शृंखला हेर्ने हो भने केही समयपछि त्यो पार्टी एमालेमा विलय हुने खतरा देखिएको छ ।
गत निर्वाचनमा एमालेकै सहयोगमा झापा ३ बाट राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यही गुण तिर्न पनि राप्रपाले एमालेलाई विगत तीन वर्षदेखि निसर्त सहयोग गर्दै आएको छ ।
जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा एमालेका उम्मेदवार रहेका गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले मत दिने निर्णय गरेको छ। ‘एमालेबाट उपनिर्वाचनमा बादललाई मतदान गरी सहयोग गर्न अनुरोध आएकोले राप्रपाका प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई मतदान गर्न जानकारी गराइन्छ,’ राप्रपाले भनेको छ।
राप्रपाको यो निर्णयले आगामी निर्वाचनमा पनि उसले एमालेसँग कार्यगत एकता गर्न चाहेको देखिन्छ । अर्को निर्वाचनमा एमालेसँग सहकार्य गरेमा कम्तीमा तीन–चार सिट जित्न सकिने आकलन राप्रपाका नेताहरूको छ । सोही कारण एमालेले सहयोग नमागे पनि राप्रपाले आफैंले एमाले उम्मेदवारलाई भोट दिने निर्णय गरेको बताइन्छ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्दा पनि राप्रपाले विरोध जनाएको थिएन । सबै पार्टी सडक आन्दोलनमा हुँदा राप्रपा भने एमाले त्यसमा पनि ओली गुटको पक्षमा निरन्तर देखिएको थियो ।




