काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई सधैं आफूलाई जान्ने, सुन्ने, बुझ्ने ठान्छन् । उनको यो बानी धेरै पहिलेदेखिकै हो । ओलीको यही हठले एक वर्षमा पाँच हजार बढी नेपालीले ज्यान गुमाउन पुगेका छन् । तैपनि उनी त्यसलाई सहजै स्वीकार्न तयार छैनन् ।
गत वर्ष प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले नेपाली जनताको इम्युनिटी पावर धेरै भएकाले कोरोना लाग्दैन, लागिहाले पनि तातोपानी खाएर हाच्छ्युँ साच्छ्युँ गरेर हटाउनुपर्ने बताएका थिए । ओलीले त्यसो भनेलगत्तै नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रश्न गरे– कसले भन्यो नेपालीको इम्युनिटी पावर बढी छ भनेर ?
ओलीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै भने– मैले भनेको । देख्नु भएन अघि भर्खर मैले भनेको हुँ । यसपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने र संक्रमित हुने बढ्दै गए । यो एक वर्षमा पाँच हजार नेपाली जनताले कोरोनाबाट ज्यान गुमाएपछि बल्ल ओलीको घैंटोमा घाम लागेको छ ।
आइतबार आयोजित सर्वपक्षीय भेलामा ओलीले भने– मैले कोरोनाले यस्तो भयावह रूप लेला भनेर सोचेको थिइनँ । नेपालीको इम्युनिटी पावर धेरै भएकाले कोरोनाले धेरै असर गर्दैन भन्ने मलाई लागेको थियो, तर होइन रहेछ ।
नेपाल कसरी चलेको छ भन्ने कुरा प्रधानमन्त्रीको कुर्सीमा बसेका ओलीको भनाइले नै पुष्टि गर्छ । एउटा देशको शासक स्वप्न द्रष्टा हुन्छ । उसले जनताको दीर्घकालीन हितको बारेमा सोच्छ । नीति बनाउँछ । तर, केपी ओलीले यो एक वर्षमा आफ्नो कुर्सी कसरी जोगाउने भन्नेबाहेक केही सोचेनन् । नत्र यत्रो अवसर हुँदाहुँदै पनि उनले स्वास्थ्य सामग्री खरिद गर्नतिर लागेनन् । अक्सिजनसहितको अस्पताल बनाउन चासो देखाएनन् । बरु उनका वनमन्त्री प्रेम आले भन्दैछन्– पशुपतिमा शव जलाउन दाउराको खाँचो हुँदैन ।




