समाचार

एमाले नेता भित्रै पसेर खेल्न थालेपछि जसपा दुई टुक्रा हुँदै

काठमाडौं । एक वर्षअघि प्रधानमन्त्री केपी ओलीकै कारण जुटेको जसपा अहिले ओलीकै कारण विभाजित बन्ने अवस्थामा पुगेको छ । जसपामा अहिले पार्टीका नेताभन्दा पनि एमाले र ओलीको निर्णय मान्नै पर्ने अवस्था आएकाले केही दिनभित्रै जसपा विभाजन हुने अनुमान गर्न थालिएको छ । ओलीलाई प्रधानमन्त्री बनाउन जसपाको एउटा पक्षले खुलेर सहयोग गरेको थियो भने अर्को पक्ष विपक्षमा छ ।

अध्यक्ष महन्थ ठाकुरपक्षले अर्का अध्यक्ष उपेन्द्र यादवको उपस्थितविनै संसदीय दलको नेता चयन गरेपछि जसपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको हो । यादव पक्षले बालकुमारीस्थित पार्टी कार्यालयमा शनिवार कार्यकारीणी समितिको बैठक गरिरहँदा अर्का अध्यक्ष ठाकुरले बैठक नभएको विज्ञप्ति नै जारी गरेर आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै त्यसप्रति आपत्ति जनाए ।

प्रधानमन्त्री केपी ओलीले संसदबाट विश्वासको मत लिने बेला दुर्इ धारमा बाँडिएका सांसदलाई पक्ष र विपक्षमा मतदान गर्ने अधिकार स्वविवेकमा छाडेको जसपा सरकार गठबन्धन सरकार बनाउने बारेमा कुनै निर्णयमै पुग्न सकेन । ठाकुर पक्ष गठबन्धन सरकारकाविरुद्ध देखिएपछि पुनः ओली सरकारले नै निरन्तरता पायो । यही झगडापछि अहिले पार्टी नै फुटको डिलमा पुगेको बताइन्छ ।

बिहिवार ठाकुरपक्षले भक्तपुरको एक रिसोर्टमा बहुमत सांसदहरु भएको दाबी गर्दै संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेपछि यादव पक्षले त्यसको विरोध गरेको छ । राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउने बैठकमा एमाले नेता एवं प्रधानमन्त्री ओलीका विशेष दूत महेश बस्नेत पनि सहभागी थिए । अर्को पार्टीको बैठकमा बसेर निर्णय गराउने अधिकार एमाले सांसद बस्नेतलाई कसले दियो भन्दै त्यसको विरोध हुन थालेको छ । यो पक्षले दलको विधान नै नबनेको अवस्थामा एकपक्षीय भेलाको गरेको निर्णय स्वीकार गर्न नसकिने भन्दै कारवाहीसम्मको तयारीमा पुगेको छ ।

जसपा विश्वासको मत र नयाँ सरकार गठनसम्मै ध्रुवीकृत मात्र भएको छैन, अब सग्लो पार्टी कमिटीको बैठकसमेत राख्न नसक्ते अवस्थामा पुगेको छ । त्यही भएर ठाकुर र यादवले छुट्टाछुट्टै बैठक गर्दै आएका हुन् । अब ठाकुर पक्षले राखेको बैठकमा यादव पक्ष नजाने, यादव पक्षले बोलाएको बैठकमा ठाकुर पक्ष नजाने स्थितिले पार्टी एक नरहने विश्लेषण गरिएको छ । जेठ मसान्तसम्म जसपाको ठाकुर पक्षलाई सरकारमा सामेल गर्ने ओली पक्षको तयारी छ । त्यही भएर ओलीले आफ्नो पार्टीका माधवकुमार नेपाललाई वार्ता गरेर भुल्याइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *