काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीका विशेष दूतले आफूविरुद्ध भ्रम छरेको भन्दै प्रस्टीकरण दिएका छन् ।
एमाले सांसद महेश बस्नेतले शनिबार प्राइम टेलिभिजनमा अन्तर्वार्ता दिँदै आफूलाई प्रधानमन्त्री बनाइदिन बाबुराम भट्टराई १० दिनमा दुईचोटि राति राति बालुवाटार गएर प्रधानमन्त्री ओलीलाई भेटेको आरोप लगाएका थिए ।
भट्टराईले ओलीसँग अहिलेको परिस्थितिमा देशमा राष्ट्रिय सरकारको आवश्यकता रहेको र त्यसको नेतृत्व आफैले लिनुपर्ने बताएको बस्नेतको दाबी थियो । जवाफमा ओलीले आफूविरुद्ध भट्टराईलगायत पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, उपेन्द्र यादव, रामचन्द्र पौडेल सबै लागेको र आफू १२१ जना सांसद भएको पार्टीको नेता भएकाले अरुलाई सहयोग गर्न नसक्ने बताएको बस्नेतको दाबी थियो ।
बस्नेतको सो आरोपबारे बाबुरामले आइतबार बिहान सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिएका हुन् । बाबुरामले आफूले राष्ट्रिय सहमतिको सरकार बनाउन भनेको तर प्रधानमन्त्री केपी ओली नमानेको बताएका छन् ।
बाबुरामले महाविपत्तिउन्मुख देशलाई निकास दिन व्यक्ति ओलीलाई नभई प्रधानमन्त्री ओलीलाई भेटेको पनि बताएका छन् । वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔँ भन्दा ओलीले नमानेपछि आफूले उक्त कुरा अरुलाई नभनेको पनि उनले बताएका छन् । उनले अझै पनि संविधानको धारा ७६ (५) बमोजिम सरकार बनाउन सकिने कुरा उनले बताएका छन् ।
बाबुरामले लेखेका छन्, ‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो(महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो। मैले वर्तमान\पूर्व प्रमबाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ । अझै पनि धारा७६ (५) बमोजिम बनाउन सकिन्छ।सोचौं ।’




