मान्छे छेपारोजस्तै छ
ऊ, दिनहुँजसो रङ फेर्छ
मान्छे सर्पजस्तै छ
देखिन्न काँचुली तर रोगन फेर्छ
मान्छे क्षितिजको रूखजस्तै छ
उसलाई कहिले हिमालले हेर्छ
कहिले आँधीबेहरीले र कहिले बादलले घेर्छ
स्वयम् बादल घुम्दै गर्छ रङ फेर्छ ।
मान्छेमा रङ बिरङको अनेक फेटा मिल्छ
कहिले विना टोपी
सुट, टाई र पेन्टमा पहिरन भिर्छ
कहिले भादगाउँले टोपी ओडेर
राष्ट्रि«य दौरासुरुवालमय फेसन फेर्छ
मान्छे न हो उसको रूप अनेक छ
प्रतिरूप अनेक छ
कहिले ऊ मलाम जान्छ, निरुत्साहले चुर्लुम्म हुन्छ
कहिले जन्ती हुन्छ, मानमर्यादा बिन्ती रहन्छ
कहिले सलाम खान्छ, कहिले गुलाम हुन्छ
कहिले क्रान्ति भन्छ, कहिले भ्रान्ति बुन्छ
कुनै बेला साधु बन्छ, कहिले चोरको खन्ती हुन्छ
कहिले बिरालोझैँ मान्छेसित लेपासिंदै हिंड्छ
कहिले नर्सिङ्गाझैं उरालो हुन्छ
नारद जस्तै छुल्याहा छुस्के भएर घुम्छ ।
बहुरूपको मान्छे स्वरूपै स्वरूप हो
कहिले लोपारि माँग्छ,
कहिले साष्टाङ्ग दण्डवत् गरी सपारि माँग्छ
कहिले चेपारो घस्छ , कहिले कन्पारो ताक्छ
कहिले फट्याङ्ग्रो हुन्छ , कहिले मट्याङ्ग्रो बन्छ
कुनै अद्भुत समयको चमत्कारिक मान्छे
बिर्सिन भुल्दैन अपराध पखाल्न
अब बाँकी दिन सबै धोती कछाड फेरेर
मन्दिरतिर फर्की जुम्ल्याहा हात जोडेर
ऊ अर्को घरबार भित्र्याउने छ
तरबार हुत्याउने छ , साँचो झुटो खुट्याउने छ
दिमागभरिको तनाब रित्याउने छ
पवित्र गङ्गाजल छिंट्दै वरिपरि
अपवित्रलाई चोख्याउनेछ
हिजोको घनिष्ठ आत्मीयतालाई
निर्लज्ज भै सिध्याउनेछ ।
* * *
मादी, संखुवासभा
हालः लोकन्थली, भक्तपुर




