काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै जिल्लामा अक्सीजन प्लान्ट र पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्न सरकारसंग माग गरेका छन । भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरि सबै जिल्लामा अक्सीजन प्लान्ट र पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्न सभापति देउवाले माग गरेका हुन । उनले सबै जिल्लामा आवश्यक अक्सीजन, आईसीयू बेड, खोप लगायतका औषधीको व्यवस्था गर्न पनि माग गरेका छन ।
सभापति देउवाले भनेका छन कोभिड—१९ को संक्रमणले उग्र रुप लिईरहेको छ । देशभरिका अस्पतालहरुमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सीजन, भेन्टीलेटर सहितका आईसीयू बेड र औषधीको नितान्त अभाव भई सकेको छ । सुदूरपश्चिम लगायतका दुर्गम स्थानहरु र देशभरिमा नै अक्सीजन अभावले ठूलो संख्यामा मानिसको मृत्यु भईरहेको छ । सरकार यस विषयमा अहिलेसम्म पनि गम्भीर र जिम्मेवार देखिएको छैन । म सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरि सबै जिल्लामा अक्सीजन प्लान्ट र पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सीजन, आईसीयू बेड, खोप लगायतका औषधीको व्यवस्था गर्न माग गर्दछु । यस विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गरि दिन हुन पनि अपील गर्दछु ।
सभापति देउवाले देशमा व्याप्त यस विषम घडीमा सबै दिदीबहिनी, दाजुभाइमा स्वास्थका मापदण्ड अपनाउन, आफु र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुरोध गरेका छन । देशभरिका नेपाली कांग्रेसका सदस्य तथा शुभेच्छुकहरुलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न अपील गरेका छन ।





