काठमाडौं । झन्डै दुई तिहाइको बहुमत गुमाएर केपी ओली अल्पमतको प्रधानमन्त्री नियुक्त भएका छन् । आज दिउँसो साढे २ बजे राष्ट्रपति शीतल निवासमा ओलीले तेस्रोपटक प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ लिँदैछन् ।
प्रधानमन्त्री ओलीले सानो मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ । बिहीबार चार घन्टा माधवकुमार नेपालसँग छलफल गरेर पार्टीको किचलो साम्य गरेका ओलीले रातभर बालुवाटारमा आज क–कसलाई मन्त्री बनाउने भन्ने लिस्ट तयार पारेका थिए । स्रोतका अनुसार अहिले जति पनि माओवादीबाट आएका नेतालाई मन्त्री बनाइएको छ, ती सबै मन्त्री नहुने भएका छन् । नेता नेपाल पक्षले यो विषयमा प्रस्ट अडान राखेको बुझिएको छ ।
माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणि थापा, दावा तामाङ र गौरिशंकर चौधरीलाई ओलीले मन्त्री बनाएका थिए । अब बादल, रायमाझी र भट्टबाहेक अरुको मन्त्री पद कटौतीमा पर्ने बुझिएको छ ।
ओलीका नाममा अनौठो कीर्तिमान बनेको छ । साढे तीन वर्षअघि झन्डै दुई तिहाइको बहुमत पाएका ओली अहिले अल्पमतको प्रधानमन्त्री बनेका छन् । एमालेमा मनमोहन अधिकारीपछि ओली दोस्रो अल्पमतको प्रधानमन्त्री बन्ने नेता बनेका छन् । बहुमतबाट झरेर अल्पमतका प्रधानमन्त्री बन्ने ओली मात्र हुन् । अबको ३० दिनभित्र ओलीले संसदबाट विश्वासको मत पाउन नसके फेरि उनको पद गुम्नेछ ।




