काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको चारपटक प्रधानमन्त्री भइसकेका छन् । अबको डेढ वर्षपछि हुने निर्वाचनमा कांग्रेसले बहुमत ल्याए फेरि पनि प्रधानमन्त्री हुन सक्छन् ।
तर, कम्युनिस्टले झन्डै दुई तिहाइ सिट जितेका बेला देउवाले यसपटक प्रधानमन्त्री बन्ने चाहना धेरै देखाएनन् । प्रधानमन्त्री केपी ओली भारतीय इच्छाका व्यक्ति भएकाले उनले त्यति धेरै जोडबल नगरेका हुन् ।
भारतले ओलीलाई अहिले कुनै पनि हालतमा कुर्सीबाट हटाउँदैन भन्ने परिस्थितिबारे देउवा जानकार थिए । पार्टीभित्र र बाहिरबाट निरन्तर ओलीको विकल्प खोज्न उनीमाथि दवाव बढिरहँदा देउवाले त्यसलाई इन्कार गर्दै आए । अविश्वास प्रस्ताव ल्याउन झनै दवाव ।
नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने र केपी ओलीलाई सत्ताच्यूत गराउने निर्णय बुढानिलकण्ठको एउटा कोठाबाट भएको थिएन। यो निर्णय पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र केही युवा नेताहरूको जोडबलमा सिंगो केन्द्रीय समितिले गरेको थियो।
प्रचण्डदेखि माधव नेपाल, झलनाथ खनालको उक्साहट यति थियो कि उनलाई टार्नै हम्मे हम्मे परेको देखिन्थ्यो । ओलीविरुद्ध कांग्रेसले अग्रसरता लिन नसकेको भन्दै उनको आलोचना गर्न थालियो । सबैभन्दा धेरै आलोचना गर्नेमा बाबुराम भट्टराई थिए । जो अहिले आफैं दूलो भित्र लुकेका छन् ।
जब ओलीले नै विश्वासको मत लिने निर्णय गरे, तब प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा देउवाले आफूलाई विकल्पमा उभ्याउनु स्वाभाविक थियो । तैपनि उनले मलाई प्रधानमन्त्री बनाइदेऊ भनेर कुनै नेताको दैलो चहारेनन् । बरु केपी ओलीदेखि प्रचण्ड, नेपाल, महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव, बाबुराम भट्टराई सबै बुढानिलकण्ठ पुगे ।
राष्ट्रपतिले दिएको तीन दिनको अन्तिम समयसम्म पनि देउवा बुढानिलकण्ठबाट बाहिर ननिस्कनुले उनी सुरुदेखि नै परिस्थितिबारे जानकार थिए भन्ने बुझिन्छ । हुन पनि भयो त्यस्तै । भारतको इसारामा तठस्थ बसेका महन्थ र राजेन्द्र नै बिहीबार राति प्रधानमन्त्री बनिदेऊ भनेर ओलीलाई विन्ती गर्न बालुवाटार पुगे । र, ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भए ।




