काठमाडौं । यतिबेला नेपाली कांग्रेसलाई चौतर्फी घेरामा पारिएको छ । प्रधानमन्त्री केपी ओलीको डिजाइनमा कांग्रेसलाई घेराबन्दीमा पारिएको हो । गण्डकी प्रदेश र केन्द्रमा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना धेरै छ । तर, गण्डकीमा जनमोर्चाका एक सांसद कृष्ण थापा र केन्द्रमा जसपाको महन्थ ठाकुर गुटलाई उचालेर ओलीले कांग्रेसको सरकार बन्ने सम्भावनालाई असफल पार्ने प्रयास गरिरहेका छन् । जसमा उनी एक हदसम्म सफल हुने देखिएको छ ।
गण्डकी प्रदेशमा मुख्यमन्त्रीको चयनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले तीनदिनको समय दिँदै नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । प्रदेश प्रमुखले दिएको समयसीमा आज दिउँसो ४ बजे सकिँदै छ ।
प्रदेश प्रमुखले दिएको समयसीमा भित्र दलहरूले बहुमत पु¥याइ नयाँ मुख्यमन्त्रीको नाम सिफारिस गर्नुपर्ने छ । ६० सदस्यीय प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्रबाट १ सांसद छन् ।
नयाँ सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ । जनमोर्चाका एक सांसद थापाले कांग्रेस नेतृत्वलाई सहयोग गर्न नसकिने बताए पनि विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना कम हुँदै गएको छ । अहिलेसम्मको अवस्था हेर्दा गुरुङ नै पुनः मुख्यमन्त्री बन्ने देखिएको छ । कांग्रेसबाट कृष्णचन्द्र पोखरेल नेपाली मुख्यमन्त्रीमा प्रस्तावित थिए ।
यता केन्द्रमा भारतीय डिजाइमा ओली र महन्थ ठाकुर मिलेर कांग्रेस नेतृत्वमा सरकार बन्नै नदिने खेल खेलिरहेका छन् । ओली र ठाकुर दुवै भारतपरस्त हुन् । बिजेपीका नेता सुब्रमन्यम स्वामीले मंगलबार नै ओली भारतको च्वाइस भएको बताइसकेका छन् । केही समयदेखि भारतले नेपालका मधेस केन्द्रित दलका लागि छुट्याएको बजेट रोकिदिएको थियो । जसका कारण जसपाका ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरू आर्थिक संकटमा पर्न थालेका थिए ।
तर प्रधानमन्त्री ओलीकै विशेष आग्रहमा ‘आर्थिक सहयोग’ पुनः खोलिएकाले अहिले महन्थ पक्ष कुनै पनि हालतमा ओलीलाई छाड्ने मनस्थितिमा देखिन्न । मधेस आन्दोलनका नेता कार्यकर्ता रिहाइ, रेशम चौधरीको सजाय मिनाहा, संविधान संशोधन त महन्थ र राजेन्द्रको एउटा बहाना मात्र भएको बताइन्छ ।




