आजका पत्रपत्रिकामा पनि राजनितिकदेखि कोभिड १९ कै सेरोफेरोमा रहेर समाचार छापिएका छन् । अस्पतालमाहरुमा अक्सिजन सकिएका खबरले मुख्य स्थान पाएका छन् भने कोभिडको कारण अहिलेसम्मकै उच्च दरमा कोभिड संक्रमितको मृत्यु भएकोे छ ।
नागरिक दैनिकले २२५ जनाको मृत्यु भएको खबरलाई पहिलो पृष्ठमा छापेको छ । भने सीमित स्वास्थ्यकर्मीले धानेको त्रिवि शिक्षण अस्पताल शिर्षकमा स्थलत पिोटिङ छापेको छ । लकडाउनले सुनसान सडक हुँदै सोमबार मध्यान्ह १२ बजेतिर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुग्दा निकै भीडभाड थियो। बिरामीको चाप देख्दा कोरोना सर्ला कि भन्ने डर चस्स मनमा पस्यो। अस्पताल गेटमा लेखिएको थियो– सामाजिक दूरी कायम राखौं।
तर, अस्पताल परिसरभित्र नसोचेको भीडभाड र अस्तव्यस्तता देखियो। कतिपयले मास्क वा स्यानिटाइजर राम्ररी प्रयोग गरेका थिएनन्। केही नर्स र डाक्टर पिपिईबिनै कोरोना संक्रमितको उपचारमा खटिएका थिए। बिरामीका आफन्तले कोरोनाबाट जोगिन मास्क लगाए पनि भौतिक दूरीको भने ख्यालै गरेका थिएनन्। देशकै ठूलोमा पर्ने यो अस्पताल अहिले संक्रमितले भरिभराउ छ। र, अस्तव्यस्त पनि। वार्डका गल्लीमा समेत संक्रमित छन्। शय्या भरिएपछि बिरामीलाई बाहिर राखेर अक्सिजन दिइएको छ। कुरुवा खुम्चिएर बसेका छन्। अस्पताललाई कोभिडका बिरामीको चाप थेग्न कठिन छ। चिकित्सक, स्वास्थ्यकर्मी उपचारमा निरन्तर खटिएका छन्।
अन्नपूर्ण पोस्ट्ले कोभिड संक्रमितको दाहसंस्कार बारे मुख्य खबर छापेको छ । शवदाह गृह बिग्रिँदा….. शिर्षकमा अन्नपूर्ण लेख्छ, काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा जलाइँदै आएको थियो। तर, दुइटा मेसिनले मात्रै धान्न नसकेपछि बागमती खोला किनारमा पनि ३० वटा चिता बनाएर शव जलाउन सुरु गरिएको छ। शवदाह गृहको एउटा मेसिन बिग्रिएर थन्किएको छ। उक्त मेसिन मर्मतका क्रममा रहेको जनाइएको छ। त्यस्तै जसपा गम्भीर मोडमा शिर्षकमा अर्को मुख्य खबर छ ।
नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी ९जसपा० गम्भीर मोडमा पुगेको छ। अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेता प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रस्टै खुलेका छन्। अर्का अध्यक्ष उपेन्द्र यादव, डा। बाबुराम भट्टराईलगायत कांग्रेस–माओवादी गठबन्धनसँग जोडिन पुगेका छन्।
नेपाल समाचार पत्रले राजनितिक विषयलाई स्थान दिएको छ । राष्ट्रपतिको आह्वानपछि नयाँ सरकार गठन गर्न दौडधुप चलेको छ । ओलीलाई ठाकुरको साथ, देउवालाई यादवको समर्थन शिर्षकमा समाचार तयार पारेको छ । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएर पदमुक्त भएसँगै नयाँ सरकार गठनका लागि दौडधुप शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि तीन दिनको समयसीमा तोकेर आह्वान गरेसँगै राजनीतिक दलहरूको छलफल तीव्र बनेको छ ।
संसद्को ठूलो दल नेपाली कांग्रेसले आफूले नयाँ सरकारको नेतृत्व गर्ने बताएको छ ।




