काठमाडौं । प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु हुनुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने कार्यसूची छ । सत्तारुढ एमालेमा देखिएको किचलोले प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाउने निश्चित छ । त्यसपछि प्रधानमन्त्री स्वतः कामचलाउ हुनेछन् । यसपछिको अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा देउवा र प्रचण्डबीच छलफल भएको हो ।
कांग्रेस र माओवादी केन्द्रका साथै जसपाको उपेन्द्र र बाबुराम पक्षले ओलीको विपक्षमा मत हाल्ने निर्णय गरिसकेका छन् । तर, उनीहरूसँग संसदमा कूल कायम सदस्य संख्याको बहुमत नपुग्ने भएकाले नयाँ सरकार गठनमा सकस देखिएको छ ।
यदि आजै कांग्रेस, माओवादी केन्द्र र जसपा सिंगोले निर्णय गरी नयाँ सरकारका लागि बहुमत जुटाउन नसके राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्ति गरी सपथ खुवाउने छिन् ।




