काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आजै प्रधानमन्त्री केपी ओलीलाई बिदाइ गर्नुपर्ने बताएका छन् । त्यसका लागि उनले चार कारण पनि दिएका छन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिन संसद्को विशेष अधिवेशन बस्नुअघि उनलाई बिदाइ गर्नुपर्ने भट्टराईले बताएका छन् । ओलीलाई आजै बिदाइ गर्नुपर्ने प्रमुख कारणबारे बाबुरामले सामाजिक सञ्जालमा लेखेका छन्, ‘१. कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको, २. संविधान विपरित संसद् विघटन गरेर र २–३ नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको, ३. संवैधानिक अंगलगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको, ४. खोपरऔषधि खरिदमासमेत भ्रष्टाचार गरेको ।’
जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्षसमेत रहेका भट्टराईले आफ्नै पार्टीबाट सर्वसम्मत ओलीलाई बिदाइ गर्न विपक्षमा भने भोट हाल्ने निर्णय गराउन सकेनन् । यद्यपि उनको पक्षले भने विपक्षमा मत हाल्ने भएको छ । ओलीलाई विश्वासको मत पाउन १३६ मत चाहिन्छ । संसद्मा सबैभन्दा ठूलो ओलीकै दल एमालेसँग १२१ सांसद छन् ।
ओलीलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विश्वासको मत नदिने निर्णय गरिसकेको छ । कांग्रेसको ६१ सांसद छन् भने माओवादीको ४९ सांसद छन् । जसपाले आफ्ना ३२ सांसदलाई स्वतन्त्रत्रता दिएको छ । महन्थ ठाकुर समूहले ओलीलाई विश्वासको मत दिने तयारी छ भने डा. बाबुराम भट्टराई–उपेन्द्र यादव समूहले ओलीलाई विश्वासको मत नदिने भएका छन् ।




