काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभाको विशेष अधिवेशनमा विश्वासको मत लिँदैछन् । अहिलेसम्मको स्थिति हेर्दा उनले विश्वासको मत गुमाउने निश्चित छ । किनभने उनले आफ्नै पार्टीका सांसदको मत पाउने छैनन् । जसपाको एउटा पक्ष तठस्थ बस्ने र अर्कोले विपक्षमा मत हाल्ने स्पष्ट पारेको छ । त्यसैले संसदमा विश्वासको मत गुमाउना साथ उनले पदबाट राजीनामा दिने छन् ।
ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आजै ओलीलाई तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्ति गर्ने भएकी छन् । यो विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच सहमति पनि भइसकेको छ । ओलीलाई सबैभन्दा ठूलो दलको नेताका हैसियतमा राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्ति गर्न लागेकी हुन् ।
यसपछि एक महिनामा ओलीले संसदमा आफूलाई बहुमत देखाउनुपर्ने हुन्छ । तर, एक महिनासम्म ओलीले बजेट ल्याइसक्नेछन् । बजेटमा पपुलर कार्यक्रम ल्याएर जनतालाई मैले गर्न चाहेको थिएँ, कार्यान्वयन गर्न सकिनँ भनेर भ्रम छर्ने र आगामी निर्वाचनमा त्यसैलाई एजेन्डा बनाउने ओलीको भित्री रणनीति रहेको एमाले नेताहरु बताउँछन् ।




