रिबन

प्रधानमन्त्रीले आज विश्वासको मत लिने, पक्षमा मतदान गर्न ह्विप जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । आज दिउँसो १ बजे सुरु हुने प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओली विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गरेकी थिइन्।

आज विश्वासको मत प्राप्त गरे ओलीले प्रधानमन्त्रीमा निरन्तरता पाउँछन् । तर, उनको पक्षमा बहुमत सांसदले भोट गरेनन् भने प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ । यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ । र, राष्ट्रपतिको कार्यालयले समयसीमा तोकेर संसदलाई नयाँ सरकार गठनका लागि आग्रह गर्ने छ ।
उता, नेकपा (एमाले) ले संसदीय दलका नेता केपी शर्मा ओलीेलाई विश्वासको मतका पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् । संसदीय दलको बैठकपछि मुख्य सचेतक भट्टराईले सोमबार अपराह्न १ बजे प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थिति भई विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै सांसदलाई ह्विप जारी गरेका हुन् ।।
संसदीय दलका नेताको निर्देशनानुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २८ र एमाले संघीय संसदीय दलको विधान, २०७७ को धारा २४ बमोजिम सो ह्विप जारी गरिएको हो ।
नेपाली कांग्रेस र माओवादी केन्द्रले विपक्षीमा मतदान गर्दै छ भने जसपाले पक्षमा मत नगर्ने तर विपक्षी वा तटस्थ बस्ने भन्ने अधिकार सांसद्लाई छाडेको छ ।
त्यस्तै विश्वासको मत माग्नुअघि सहमति नभए खनाल–नेपाल समूहका सांसदले सामूहिक राजीनामा दिने बताएको छ । यदि खनाल–नेपाल समूहले राजीनामा दिएको अवस्थामा भने प्रधानमन्त्री ओलीलाई संसदमा बहुमत पुग्ने छैन ।
सो समूहले सहमतिको लागि आज विहानसम्मको समय दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *