राजनीति

प्रचण्ड छाडेर ओली रोजेका बादललाई पहिलो गाँसमै लाग्ने भो ढुंगा

काठमाडौं । माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादललाई पहिलो गाँसमै ढुंगा लाग्ने भएको छ । एमालेले कारबाही गरेको माधवकुमार नेपाल पक्षले डा.खिमलाल देवकोटालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय गरेसँगै बादलको विकल्प खोज्नेबारे एमालेमा छलफल सुरु भएको छ ।

प्रधानमन्त्री ओलीकै सक्रियतामा हालै एमाले प्रवेश गरेका बादललाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय भएको थियो । तर, त्यसलाई काउन्टर दिँदै माधव पक्षले बौद्धिक व्यक्तित्व देवकोटालाई अघि सारेपछि मतभार कम भई पराजित हुने निश्चित भएपछि बादलको विकल्प खोज्ने बारे छलफल चलेको हो । सम्भवतः शुक्रबार उम्मेदवारी मनोनयन दर्ता गर्ने बेलासम्म एमालेले अर्कै नेतालाई बादलको ठाउँमा उम्मेदवार बनाउने स्रोतले बताएको छ ।

माधव पक्षले नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपासँग मिलेर खिमलाल देवकोटालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय गरेपछि ओलीको अहिलेसम्मको दम्भ र अहंकार एकैपटक तोडिने भएको छ । ओलीले हालै माओवादीबाट आएका बादललाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने पार्टी निर्णय गराएका थिए । तर, त्यसलाई चुनौती दिँदै माधव पक्षले देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि ओलीले बिहीबार अचानक स्थायी कमिटी बैठक राखे । यदि माधव पक्षले देवकोटालाई उम्मेदवार उठाएमा एमालेका अधिकांश जनप्रतिनिधिको भोट बादललाई नजाने चर्चा सुरु भइसकेको छ । त्यसैले अहिले बादल खेमामा भुइँचालो गएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *