काठमाडौं । प्रधानमन्त्री केपी ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।
एमाले अध्यक्षसमेत रहेका ओली पार्टी महासचिव ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई लिएर देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् ।
ओलीविरुद्ध विपक्षी गठबन्धन सशक्त ढंगले क्रियाशील भइरहेका बेला उनी विपक्षी दलका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री देउवालाई भेट्न पुग्नुले राजनीतिमा अर्थपूर्ण मानिएको छ ।
ओलीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन् । साथै, जेठ ६ गते राष्ट्रिय सभामा बाग्मती प्रदेशबाट उपनिर्वाचनको पनि घोषणा भएको छ । यी सबै विषयमा छलफल गर्न ओली देउवालाई भेट्न पुगेको स्रोतले बताएको छ ।
अहिलेसम्म कांग्रेस सभापति देउवाकै कारण ओली प्रधानमन्त्रीको कुर्सीमा टिकिरहेका थिए । तर, मंगलबार ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि देउवाले आपत्ति जनाएका छन् ।




