काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्य सामान्य बनेको छ । नेता पौडेलले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत आफू स्वस्थ रहेको जानकारी दिएका हुन् ।
उनले सोमबार आफ्नो पेटमा समस्या देखिएको भन्दै चिन्ता व्यक्त गर्ने र शुभेच्छा दिने सबैलाई धन्यवाद पनि दिएका छन् । नेता पौडेल स्वस्थ हुनेवित्तिकै नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।
दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा डाकिएको बैठकमा कोरोना भाइरसको महामारी तीव्र भइरहँदा महाधिवेशनलाई कसरी गर्ने भन्ने विषयमा छलफलको तयारी भएको छ ।
सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार यसअतिरिक्त आजको बैठकमा ओलीले यही २७ गते लिन लागेको विश्वासको मतमा कांग्रेसले कस्तो रणनीति अख्तियारी गर्ने भन्नेबारे पनि छलफल हुनेछ । बैठकमा पूर्वपदाधिकारीलाई पनि बोलाइएको छ । पदाधिकारी बैठक सोमबार नै बस्नै भनिए पनि केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको थियो ।




