काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद विमला वलीले मुख्यमन्त्री शंकर पोखरेलको खेल बिगारिदिएकी छन् । उनी एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेपछि पोखरेलको बहुमत गुमेको छ ।
माओवादी र एमाले विभाजित भएपछि वली कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाईसमेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो । उनको निर्णयले एमालेको बहुमतको एकल सरकार बनाउने सपनामा धक्का लागेको छ । वली स्व.उत्तरकुमार वलीकी पत्नी हुन् ।
नेकपाका तर्फबाट विमलाले दाङबाट प्रदेशसभा ३ ख बाट उपचुनाव जितेकी थिइन् । २०७६ मंसिरमा भएको उपनिर्वाचनमा उनी पाँच हजार १०४ मतान्तरले विजयी भएकी थिइन् । वलीले २४ हजार २८६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज आचार्यले १९ हजार १८२ मत प्राप्त गरेका थिए ।
एमालेको एकल बहुमतको सरकार नबन्ने अवस्था आएपछि मुख्यमन्त्री पोखरेलले आजै प्रदेश सभाको अधिवेशन अन्त्य गराएका छन् । आजको प्रदेश सभा बैठकमा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेस हुँदै थियो । त्यसअघि नै उनले राजीनामा दिएर कामचलाउमा परिणत भएका छन् ।
लुम्बिनीमा जसपाले आफ्ना चारमध्ये दुई सांसदको ठाउँमा दुईजना सांसदलाई मनोनीतको तयारी गर्दैछ । दुईजना मनोनीत भएर आएपछि जसपाको चार सांसद हुन्छन् । कांग्रेसको १९, माओवादीको १९, जसपाको चार र जनमोर्चाको एक गरी ४३ सांसद विपक्षमा हुने भएपछि शंकर पोखरेल अब मुख्यमन्त्री नबन्ने परिस्थिति निर्माण हुँदै गएको छ ।




