राजनीति

लुम्बिनी प्रदेशको विवादले जसपा औपचारिक रूपमै विभाजित, उपेन्द्र पक्षका २६ जनाले गरेका थिए निर्णय

काठमाडौं । लुम्बिनी प्रदेशका चार सांसदलाई कारबाही गरेको विषयले जसपा औपचारिक रूपमै विभाजन भएको छ । अब घोषणा हुन मात्र बाँकी छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित चार जसपाका सांसद एक घण्टा नवित्दै मुख्यमन्त्रीकै क्याविनेटमा मन्त्री वन्न पुगेपछि जसपाभित्रको विवादले उग्र रुप लिएको हो ।

विवाद बढ्दै जाँदा मन्त्री बन्न पुगेका चार सांसदलाई उपेन्द्र यादव पक्षले सांसदबाटै हटाउने गरी निर्णय लिएको छ । तर त्यो निर्णयलाई महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले भने अश्वीकार गरेको छ ।

महन्थ पक्षले पार्टी बैठक नै नवसेको र फर्जी निर्णय लिएको दाबी गरिरहँदा यादव पक्षको कार्यकारिणी समितिको बैठकको निर्णय र निर्णयमा हस्ताक्षर गर्नेहरुको सूचीसहितको माइन्यूट बाहिरिएको छ । ५१ सदस्यीय कार्यकारी समितिमा २६ जना सहभागी रहेको र बहुमतले हस्ताक्षर गरेको देखिएको छ ।

पार्टी अध्यक्ष यादवले कारवाहीका लागि पठाएको पत्रमा पूर्वराजपा पक्षका नेताहरुको समेत हस्ताक्षर छ भने केही पूर्वसमाजवादी पार्टीका नेताहरुले पत्रमा हस्ताक्षर गरेका छैनन् ।

जसपा नेपाल लुम्बिनी प्रदेश र लुम्बिनी प्रदेश संसदीय दलको निर्णयविरुद्ध ह्वीप उल्लंघन गरेको तथा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा ३ बमोजिम स्पष्टिकरण सोध्दा जवाफसमेत नदिएकोले प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालमाथि जसपा नेपाल प्रदेश समितिले केन्द्रीय कार्यकारिणी समितिको प्रत्यायोजित अधिकार बमोजिम कारवाही गरेको जसपा नेपालको निर्णयमा उल्लेख छ ।

राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा ५ बमोजिम चारैजनाको प्रदेशसभाको सदस्य पद र पार्टीको सदस्य समेत नरहने गरी निष्काशन गरी निजहरुको प्रतिनिधित्व गरेको सम्बन्धित प्रदेशसभा सदस्य सीट रक्ति गर्न सिफारिससहित यस केन्द्रीय कार्यकारिणी समितिलाई अनुरोध गरेकोमा त्यो माग बमोजिम गर्न गराउन केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट सर्वसम्मतिले स्वीकृत गर्ने निर्णय गरेको निर्णयमा उल्लेख छ ।

हस्ताक्षर गर्नेमा जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोकुमार राई, कार्यकारिणी सदस्य महेन्द्रराय यादव, रमेशप्रसाद यादव, गज्जाधर यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, नवराज सुवेदी, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, लालबाबु राउत, हिसिला यमी, गंगानारायण श्रेष्ठ, रनध्वज लिम्बू, रामसहायप्रसाद यादव, डम्बरबल्लभ खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी, इस्तियाक राई, सदस्य दुर्गा सोभ, परशुराम खापुङ, प्रशान्त सिंह, भक्तबहादुर शाह, सुशिल श्रेष्ठ र विजयकुमार यादव छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *