काठमाडौं । यदि जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी ओलीको विकल्प चाहेको भए उहिल्यै उनी बालकोट पुगिसकेका हुन्थे । पुस ५ मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोध गर्ने जसपा अहिले भने ओलीसँग निकै नरम बनेको छ ।
खासगरी महन्थ ठाकुर र राजेन्द्र महतोकै कारण ओलीले गणतन्त्रमा ताण्डव देखाइरहेका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रसँग जसपालाई मिल्न नदिने ओलीको रणनीतिमा भारतले पनि राम्रै सहयोग गरिरहेको छ । नयाँ दिल्लीले जस्तो आदेश दिन्छ त्यसलाई नै शिरोधार्य गर्ने भएकाले ठाकुर र महतोलाई ओलीले राम्रैसँग उपयोग गरिरहेका छन् ।
कतिसम्म भने ओलीले हालै मन्त्रिपरिषद्बाट ११३ मुद्दाका १२० जसपा कार्यकर्ताको मुद्दा फिर्ता लिने निर्णय गराए । तर, त्यहाँ एउटा पनि थारु समुदायका परेनन् । अधिकांश महोत्तरीका उग्र राजपाका कार्यकर्ता छन् । रेशम चौधरीको सहानुभूति लिएर थारु सामुदायलाई आफ्नो पक्षमा पार्ने रणनीति ठाकुर र महतोको छ । त्यसलाई प्रधानमन्त्री ओलीले पनि साथ दिँदै आएका छन् ।
रेशम चौधरी सजाय पूरा नगरी जेलबाट छुट्छन् भन्नेमा थारु समुदाय नै विश्वस्त छैनन् । तर, ठाकुर र महतोले हामी प्रयास गर्दैछौं भन्ने देखाउन छाडेका छैनन् । जबकि दुवैलाई रेशम चौधरी छ्ुट्न नसक्ने स्पष्ट थाहा छ । जसपाको अर्को पक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईलाई तह लगाउन पनि ओलीले ठाकुर र महतोले जे जे भन्छन् त्यही त्यही मान्दै गएका छन् । जुन आगामी निर्वाचनमा ओलीकै लागि प्रत्युत्पादक बन्ने निश्चित छ ।
प्रधानमन्त्री केपी ओलीको सरकार जोगाउने र ढाल्ने समिकरणको विषयमा विवाद हुँदा विभाजनको डिलमा पुगेको छ । अध्यक्षद्वय ठाकुर र यादवको भिन्न लाइनले विवाद उत्कर्षमा पुगेको छ । ठाकुरको पहलमा जसपाका १२० नेता कार्यकर्ताको मुद्दा फिर्ताको निर्णय सरकारले गरेको छ । त्यसपछि उनी ओलीसँग सरकारमै सहभागी हुने सम्झौताका लागि बढेका छन् ।
तर, अध्यक्ष यादव कुनै हालतमा ओलीसँग मिलेर जान नहुने पक्षमा छन् । उनी ओली सरकारविरुद्धको समिकरणमा जानुपर्ने जोड गरिरहेका छन् । लुम्बिनी प्रदेशमा जसपामा ठूलो विवाद छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गर्ने चारजना जसपा सांसद मन्त्री बनेपछि विवाद बढेको थियो । उनीहरुलाई जसपाको यादव पक्षले कारबाही गरी सांसद पदबाटै मुक्त गर्ने सिफारिश गर्यो । यसको विरोधमा अध्यक्ष महन्थ ठाकुरले पत्र नै लेखे ।
एउटा पक्ष सांसदलाई कारबाही गर्ने र अर्को रोक्ने विषयले जसपाको विवाद छताछुल्ल भएको छ । अब केन्द्रमा ओलीलाई साथ दिने या नदिने विषयको विवादले जसपा फुट्न सक्ने सम्भावना बढेको छ । तर अहिले नै यसै भन्न सक्ने अवस्था छैन ।




