काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास फेल हुने भएको छ । दुईजना सांसद बेपत्ता भएपछि मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव फेल हुने सम्भावना बढेको हो । मतदान हुने कार्यक्रम थियो । सांसद हराएको भनी जनमोर्चाका मुख्य सचेतक पियारी थापाले संसद सचिवालयमा निवेदन दर्ता गराएपछि संसदको कारबाही अर्को सूचना टाँस नगरेसम्मका लागि स्थगित गरिएको छ ।
गण्डकी प्रदेशमा निर्णायक देखिएको राष्ट्रिय जनमोर्चा एक र एकमात्र रहेको स्वतन्त्र सांसद बेपत्ता भएका थिए । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जनमोर्चाका सांसद खिमविक्रम शाही र राजीव गुरुङ ‘दीपक मनाङे’ सम्पर्क बाहिर छन् । सासद शाहीका स्वकीयसचिव मिलन हमालले सांसद शाही आज अचानक १२ बजेदेखि बिरामी भइ उपचार भइरहेको र उपचारको सिलसिलामा आफ्नो भाइ जुन बिक्रम शाहीसँगै रहेको जानकारी गराएका छन् ।
यसैगरी मनाङबाट स्वतन्त्र चुनाव जितेका दीपक मनाङे पनि संसदमा उपस्थित भएका थिएनन । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दलले सम्पर्क गर्न खोज्दा पनि उनी सम्पर्क बाहिर रहे । उनले मोबाइल स्वीच अफ गरेका छन् । पहिले फोन गर्दा नउठाएको र पछि स्वीच अफ गरेको बताइएको छ ।
यदि, आज नै मतदान भयो र शाही र मनाङे आइपुगेनन् भने मुख्यमन्त्री गुरुङविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल हुनेछ र सरकार जोगिनेछ । दुई जना नआउँदा अविश्वास प्रस्तावको लागि आवश्यक ३१ मत पुग्दैन ।
प्रदेशसभामा कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र) का ११, जसपाका २ गरी २८ जना सांसदले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।




