काठमाडौं । जनता समाजवादी पार्टीका ६ शीर्ष नेताहरूको बैठक विना निष्कर्ष टुंगिएको छ । पार्टी कार्यालय बालकुमारीमा मंगलबार शीर्ष नेताको बैठक बसेको थियो ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । एक–दुई दिनमा फेरि बैठक बस्ने उनले बताए ।
बैठकमा नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।
पछिल्लो सयम जसपामा प्रधानमन्त्री केपी ओलीको सरकारलाई समर्गन गर्ने कि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने भन्नेमा दुईथरी मत छ ।
जसपाका अध्यक्ष ठाकुर र महतो प्रधानमन्त्री ओली सरकारकै पक्षमा देखिएका छन् । बाबुराम र उपेन्द्र ओलीलाई जसरी पनि सत्ताबाट निकाल्नुपर्ने पक्षमा छन् ।
लामो समय अनिर्णीत हुन नहुने भनेर जसपाका कार्यकारिणी सदस्यहरूले छिटो बैठक बोलाउन माग गरेका छन्। तर, शीर्ष नेताबीच मतभेद रहेकाले पार्टीले कार्यकारिणी बैठक बोलाउन सकेको छैन। ५१ सदस्यीय जसपाको कार्यकारिणी समितिमा भट्टराई र यादव पक्ष स्पष्ट बहुमतमा छ। सोही कारण पनि महन्थ ठाकुरले चासो नदेखाएका हुन् ।




