काठमाडौं । प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा विपक्षी पार्टीहरू सक्रिय भएका छन् । तीन दिनअघि कांग्रेस पदाधिकारी बैठकले तत्काल ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने निर्णय गरेको थियो । तर, कांग्रेसको सो निर्णयले ओली डेढ वर्षसम्मै सरकारमा रहने निश्चित भएपछि फेरि अविश्वास प्रस्तावको गृहकार्य सुरु भएको हो ।
अविश्वास प्रस्ताव कहिले ल्याउने भन्नेमा कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेता आन्तरिक तयारीमा जुटेका छन् । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पदमुक्त भएलगत्तै केन्द्रमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिने स्रोतले बताएको छ ।
जसपाले निर्णय गरेमा सम्भवतः भोलि नै संसद् सचिवालयमा अविश्वासको प्रस्ताव गर्दा गरिने भएको छ । जनता समाजवादी पार्टीका ६ जना शीर्ष नेताहरूको बैठक अहिले बसिरहेको छ। पार्टी कार्यालय बालकुमारीमा जसपा नेताहरूको बैठक बसेको हो।
बैठकमा नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन्।
ठाकुर र महतो ओली सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् । भट्टराई र यादव ओलीलाई जसरी पनि विस्थापित गर्नुपर्ने पक्षमा छन् ।




