राजनीति

कांग्रेसले प्रधानमन्त्री ओलीविरुद्ध तत्काल अविश्वासको प्रस्ताव किन ल्याउन चाहेन ?

काठमाडौं । नेपाली कांग्रेसले केही समयअघि प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने र उनीविरुद्ध अविश्वासको प्र्रस्ताव ल्याउने पार्टी निर्णय गरेको थियो । उसले पटक पटक माओवादी केन्द्र र जसपासँग यसबारे औपचारिक र अनौपचारिक वार्ता पनि गरेको थियो । तर, जति प्रयास गर्दा पनि ओलीविरुद्ध अविश्वासको प्रस्ताव पास हुने स्थिति भएन ।

सोही कारण कांग्रेसले संख्या नपुगेसम्म प्रधानमन्त्री केपी ओलीविरुद्ध प्रतिनिधिसभामा अविश्वास प्रस्ताव दर्ता नगर्ने स्पष्ट पारेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आइतबार बसेको पदाधिकारी बैठकले तत्काल अघि नबढ्ने निष्कर्ष निकालेको हो ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले ओलीविरुद्ध अविश्वासको प्रस्ताव पास गर्नका लागि आफूहरुसँग पर्याप्त संख्या नपुगेको बताएका छन् । संख्या नपुग्दा र त्यसको ग्यारेन्टी नहुँदासम्म अविश्वास प्रस्ताव नराख्ने निधिको भनाइ छ । ‘प्रस्ताव फेल भयो भने त एक वर्षसम्म राख्न पाइँदैन । आफैं खाडलमा फसिन्छ,’ उनले भने, ‘हामी पूर्ण तयारी नगरी अविश्वास प्रस्ताव ल्याउँदैनौं ।’ कांग्रेसको यो निर्णयले सबैभन्दा धेरै फाइदा प्रधानमन्त्री ओलीलाई भएको छ ।

सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । कोरोना संक्रमणको दोस्रो लहरको जोखिम बढेको भन्दै सबै केन्द्रीय सदस्यहरुको पीसीआर परीक्षण गरेपछि मात्र बैठक १५ गते बस्ने तय भएको हो । कांग्रेस नेताहरूको आजबाट स्वाव लिएर पिसिआर परीक्षण गर्न लागिएको छ ।

कांग्रेसले ओलीविरुद्ध तत्काल अविश्वासको प्रस्ताव नल्याउने निर्णयपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई राहत मिलेको छ । यदि कांग्रेसले अविश्वासको प्रस्ताव ल्याएमा माधव पक्ष प्रतिनिधिसभामा पक्ष विपक्षमा खुल्नुपथ्र्यो । त्यसै पनि अहिले नेपाल पक्षमाथि ओलीले कारबाही थालेका छन् । कांग्रेसको निर्णयपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने निकै तनावमा परेका छन् । उनले अहिलेसम्म ओलीलाई दिएको समर्थन फिर्ता लिएका छैनन् । संसदमा कांग्रेससँग अविश्वासको प्रस्ताव पास हुने आवश्यक संख्या नभएकाले पनि ओलीको कुर्सी केही समयसम्म लम्बिने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *