काठमाडौं । साढे तीन वर्षअघि सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले करारी पराजय बेहोरेको थियो । जसकारण केन्द्र र अधिकांश प्रदेशमा प्रमुख विपक्षीमा सीमित बन्न पुग्यो । तर, आवधिक निर्वाचन आउनु डेढ वर्षअघि कांग्रेसले एउटा प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउने परिस्थिति निर्माण भएको छ ।
यदि आज त्यस्तो कुनै चमत्कार नभएमा कांग्रेसका नेता गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने छन् । गण्डकी प्रदेश सभाको आजबाट सुरु हुने विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल गर्ने कार्यसूची छ ।
गुरुङविरुद्ध वैशाख २ गते कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । २७ सदस्य रहेको एमालेको साथ जनमोर्चाले छोडेपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमत जुटाउन ३१ मत आवश्यक पर्छ । एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२ सांसद छन् । यस्तै जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एकजना सांसद छन् ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूचीअनुसार सोमबार प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बोल्नेछन् । त्यसपछि अरु प्रदेश सभा सदस्यले बोल्न समय पाउने छन् । प्रदेशसभा सचिवालयका अनुसार अविश्वासको प्रस्तावमाथि छलफल सकिएपछि बल्ल मतदान हुनेछ ।




