पोखरा । गण्डकी प्रदेश सभामा आजबाट विशेष अधिवेशन सुरु हुँदैछ। दिउँसो २ बजे बस्ने पहिलो बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरूद्धको अविश्वास प्रस्ताव टेबुल हुनेछ।
मुख्यमन्त्री गुरुङले वैशाख १ गते संसदको चालु अधिवेशन अन्त्य गराएका थिए। आफूविरुद्ध अविश्वास प्रस्ताव आएपछि उनले त्यसकाे सामना गर्नुकाे साटाे प्रधानमन्त्री केपी शर्मा अाेलीकाे बाटाे पछ्याउँदै चाेर बाटाे राेजेका थिए। तर त्यसपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहितले प्रदेश प्रमुखसमक्ष समावेदन गर्दै विशेष अधिवेशन माग गरेका हुन्।
आज पहिलो दिन अविश्वास प्रस्ताव टेबल भएपछि सबै दलका नेताले आफ्ना धारणा राख्ने र दोस्रो दिन भोलि मंगलबार मुख्यमन्त्रीले जवाफ दिने कार्यसूची छ।
मुख्यमन्त्रीको जवाफपछि मंगलबारै अविश्वास प्रस्ताव निर्णयार्थ मतदान हुनेछ। नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेललाई प्रस्ताव गरिएको छ।
६० सदस्य रहेको गण्डकी प्रदेश सभामा अविश्वास प्रस्ताव पास हुन ३१ मत (बहुमत) आवश्यक हुन्छ।




