राजनीति

गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव सोमबार पेश हुने

काठमाडाै । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव सोमबार प्रदेश सभामा पेश हुने भएको छ।

प्रदेश सभाको कार्यव्यवस्था मरामर्श समितिको आइतबार बसेको बैठकले भोलि नै उक्त प्रस्ताव पेश गरेर छलफल अघि बढाउने निर्णय भएको सभामुख नेत्रननाथ अधिकारीले बताए ।

अविश्वासको प्रस्ताव पेश गरेर सोमबारदेखि नै छलफल अघि बढाउने र सांसदहरुलाई उक्त प्रस्तावका बारेमा बोल्न समय दिइने बताइएको छ । गण्डकी सरकारविरुद्ध विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रदेश सभा सचिवालयमा गत वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

उक्त प्रस्ताव आउने निश्चित भएपछि प्रदेश सरकारले बैशाख १ गते राती १२ बजेदेखि लागु हुने गरी प्रदेश सभाको हिउँदे अधिवेसन अन्त्य गरिदिएको थियो।

अधिवेसन अन्त्य भएपछि विपक्षी दलहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई प्रदेश सभाको विशेष अधिवेसन बोलाउन निवेदन दिएका थिए।

सोही निवेदनका आधारमा प्रदेश प्रमुख शेरचनले बैशाख १३ गते विशेष अधिवेसन बोलाएका हुन्।

विशेष अधिवेसनमा अविश्वासको प्रस्ताव उपर छलफल हुने र मतदानमार्फत् टुङ्गो लागेपछि विशेष अधिवेसन अन्त्य हुने सभामुख अधिकारीले जानकारी दिए।

विपक्षी दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन्।

प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाले दिएको समर्थन पनि फिर्ता लिएपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा छन्।

६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ जना सांसद छन्।

स्वतन्त्र सांसद दीपक मनाङे पनि एमाले संसदीय दलको बैठकमा सहभागी हुँदै आएका छन्।

यो समेत गरी सरकारको पक्षमा २८ जना सांसद छन्।

विपक्षी दलहरु कांग्रेसका १५ जना, माओवादी केन्द्रका १२ जना, राष्ट्रिय जनमोर्चाका ३ जना र जनता समाजवादी पार्टीका २ जना सांसद छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *