काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल देशभर लकडाउन नहुने बताएका छन् । सत्तारुढ एमालेको बालुवाटारमा सम्पन्न स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री ज्ञवालीले कोरोना भाइरसको संक्रमण तीव्र फैलिए पनि सरकारले तत्काल देशभर लकडाउन नगर्ने बताएका हुन् ।
उनले कोरोना संक्रमण दर बढेको आधारमा स्थानीय तहमा बन्दाबन्दी भने हुन सक्ने बताए । ‘देशको अर्थतन्त्र भर्खर तंग्रिएको छ, यस्तो अवस्थामा लकडाउन गर्नु हुन्न भन्ने विषयमा प्रधानमन्त्रीज्यूको धारण आयो,’ उनले भने, ‘संक्रमण दर बढेका आधारमा स्थानीय तहले लकडाउन गर्न सक्छन् ।’
स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षका सांसदलाई निलम्बन गर्नसकिने बारे प्रधानमन्त्री केपी ओलीले प्रस्ताव गरेको र त्यसमा सामान्य छलफल मात्र भएको उनले जानकारी दिए ।
बैठकले पार्टीलाई अपूरणीय क्षति पुर्याउन लागेको ठहर गर्दै माधव नेपाललगायत केही नेतालाई तत्कालै सांसद पदबाट निलम्बन गर्नेबारे निर्णय लिने एमाले स्रोतले जनाएको छ।
स्पष्टीकरण सोधिएका २७ जनामध्ये केहीलाई कारबाही गर्ने एमालेको तयारी छ। झलनाथ खनाल, माधव नेपाल, भीम रावललगायतका नेताहरूमाथि कारबाही नगर्दा थप क्षति हुने भएकाले सांसद पदबाट निलम्बन गरी संसदका गतिविधिहरूमा भाग लिन नदिने दलको विधानअनुसार अघि बढ्नेबारे छलफल भइरहेको एमाले स्रोतले जनाएको छ।




