काठमाडौं । सत्तारुढ एमालेको स्थायी कमिटी बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठकपछि एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बसिरहेको छ ।
आकस्मिक रुपमा बोलाइएको बैठकले माधव नेपाल समूहसमेत गरी केही सांसदलाई कारवाहीको निर्णय गर्ने बुझिएको छ । बैठकले नेपालसँगै, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत आधा दर्जन बढी सांसदलाई कारवाही को तयारी रहेको स्रोतले बतायो ।
आफूविरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता हुन लागेको सुइँको पाएपछि ओलीले आकस्मिक रूपमा बैठक बोलाई नेपाल पक्षका करिब १० सांसदलाई निलम्बन गर्ने निर्णय गर्न लागेका छन् । ओलीले आफूविरुद्धको अविश्वासको प्रस्ताव पास नहुने जोडघटाउ गरी माधव पक्षका सांसदलाई कारबाही गर्दैछन् ।
उनले केही प्रत्यक्ष निर्वाचित र केही समानुपातिक सांसदलाई कारबाही गर्दैछन् । समानुपातिक सांसदलाई निलम्बन गरेलगत्तै रिक्त स्थानमा नयाँ समानुपातिक सांसद मनोनीत गर्दैछन् ।




