भारत । भारतमा कोरोना संक्रमणको दर दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ३ लाख ४९ हजार ६ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो । तीन लाखभन्दा बढी संक्रमित थपिएको लगातार चौथो दिन हो ।
त्यसैगरी पछिल्लो एक दिनमा २ हजार ७ सय ६७ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने १ लाख ९२ हजार ३ सय ११ पुगेको छ । भारतमा अहिलेसम्म १ करोड ६९ लाख ६० हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ४० लाख संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या २६ लाख ८२ हजारभन्दा बढी छ ।
भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।
भारतमा देखिएको कोरोनाको पछिल्लो लहरलाई दिल्ली उच्च अदालतले त ‘सुनामी’ को संज्ञा दिएको छ । अदालतले जेठको पहिलो साता ९मे मध्यमा० महामारी उच्च बिन्दुमा भन्दै त्यसका लागि के–कस्तो प्रबन्ध गरिएको छ भनेर सरकारलाई प्रश्न पनि सोधेको छ ।
पछिल्लो लहर सुरु भएसँगै दिल्लीलगायत महाराष्ट्र, उत्तरप्रदेश, केरला, कर्नाटक, गुजरात राज्यमा संक्रमण भयावह बनेको छ । पछिल्लो एक दिनमा उत्तरप्रदेशमा २२ हजार ५ सय ६६ र छत्तीसगढमा १५ हजार २ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा शनिबारसम्ममा १४ करोड ९ लाख १६ हजारभन्दा बढीले खोप लगाएका छन् ।




