राजनीति

केन्द्रीय समिति बैठकअघि देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । कोरोना भाइरसको महामारी तीव्र बनेकै बेला राजनीतिक अवस्था पनि निकै तरल बनेको छ । संघ र प्रदेश सरकार नै कुन बेला ढल्ने हो निश्चित छैन ।

यसैक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । केन्द्रीय समिति बैठक बस्नुअघि पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । देउवाले दिउँसो २ बजे बस्नेगरी आफ्नै निवास बुढानिलकण्ठमा बैठक बोलाएका छन् ।

कांग्रेस नेतृ पुष्पा भुसालले समसामयिक राजनीतिक विषयवस्तुबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको जानकारी दिएकी छन् । केन्द्रीय समिति बैठकअघि नै पदाधिकारी बैठक बोलाइनुले आज कांग्रेसले महत्वपूर्ण निर्णय लिन सक्ने बुझिएको छ ।

आजको बैठकमा १४औं महाधिवेशन तयारी, राष्ट्रिय सभाको उपनिर्वाचनमा लागि उम्मेदवार चयन, केन्द्र र प्रदेशमा सत्ता समीकरणलगायतका विषयमा छलफल हुने बताइएको छ।

माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादल लाई राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरेपछि उक्त स्थान अहिले रिक्त छ । जहाँ, आउँदो जेठ ६ गते निर्वाचन हुने निर्वाचन आयोगले मिति तय गरेको छ । बादल एमालेबाट सोही पदका लागि बादल नै उम्मेदवार बन्ने मोटामोटी सहमति एमालेभित्र जुटेको छ ।

१० गते बसेको एमाले महाधिवेशन आयोजक कमिटी बैठकमा बादललाई नै उम्मेदवार बनाउने भनी पार्टी अध्यक्ष केपी ओलीले घोषणा गरेका थिए । यसपछि बादलसँगको प्रतिस्पर्धाका लागि कांग्रेसले अन्य दलसँग छलफल गरिरहेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *